नेपालको पश्चिमी क्षेत्रबाट मनसुन बाहिरियो, अरु भूभागबाट पनि केही दिनभित्र बाहिरिने

काठमाण्डौं/नेपालको पश्चिमी क्षेत्र सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका सबै भूभाग तथा लुम्बिनी प्रदेशको पश्चिमी भूभागबाट मनसुन बाहिरिएको छ ।

 मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गंगा नगरकोटीका अनुसार अरु भूभागबाट पनि केही दिनभित्र मनसुन बाहिरिनेछ । यो वर्षदेखि मनसुनको बहिर्गमन औसत मिति अक्टोबर २ भनिएको छ । निर्धारित मितिभन्दा ६ दिन ढिलो मनसुन बाहिरिन सुरु गरेको हो । गत जुन १३ अर्थात जेठ ३० गते मनसुन नेपाल प्रवेश गरेको थियो ।
सामान्यतया नेपालमा पूर्वी भूभागबाट प्रवेश गर्ने मनसुन मध्य क्षेत्र हुँदै पश्चिमसम्म फैलिन्छ । झण्डै चार महिनासम्म रहने मनसुन पश्चिमबाट मध्य क्षेत्र हुँदै पूर्वबाट नै बाहिरिन्छ ।
यसैबीच नेपालबाट मनसुन बाहिरिन सुरु भएसँगै तत्काल पानी पर्ने कुनै प्रणाली सक्रिय नभएकाले अबको केही दिन ठूलो पानी कतै पनि नपर्ने मौसमविद्ले बताएका छन् ।