कपिलवस्तुको कृष्णनगरमा झाडापखालाको प्रकोप

कृष्णनगर/कपिलवस्तुको कृष्णनगर नगरपालिकाका तीन वटा वडामा झाडापखालाको प्रकोप देखिएको छ ।
कृष्णनगर नगरपालिकाका वडा नम्बर ७, ८ र ९ मा झाडापखालाको प्रकोप देखिएको हो।
झडापखालाबाट अहिलेसम्म दुई जनाको ज्यान गइसकेको छ भने एक सयभन्दा धेरै विरामी परेका छन् ।
बहादुरगन्जमा रहेको शिवराज अस्पतालमा अहिले ९६ जना बिरामीको उपचार भइरहेको छ । गम्भीर बिरामीमध्ये २० जनालाई थप उपचारका लागि जिल्ला अस्पताल तौलिहवा र प्रादेशिक अस्पताल लुम्बिनी रिफर गरिएको छ । १३ जनालाई जिल्ला अस्पताल तौलिहवामा र सात जनालाई लुम्बिनीमा रिफर गरिएको शिवराज अस्पतालका डाक्टर मुकेश चौधरीले जानकारी दिनुभयो ।
बिरामीको उपचारका लागि बेड अभाव भएको छ । एउटै बेडमा दुईःतीन जना बिरामीलाई राखेर उपचार गर्नुपर्ने बाध्यता रहेको डाक्टर चौधरीले जानकारी दिनुभयो । शिवराज अस्पताल छेउमै रहेको स्कुलको कोठा तथा टेन्टमा समेत बेडको व्यवस्था गरिएको छ ।
झाडापखालाका कारण कृष्णनगर ९ का पाँच वर्षका राज कश्यप र कृष्णनगर ८ का ४० वर्षका रामप्रसाद केबटको भने ज्यान गएको छ ।
झाडापखाला कसरी फैलियो भन्नेबारेमा अध्ययन भइरहेको र अहिलेसम्म रिपोर्ट प्राप्त नभएको जिल्ला स्वास्थ्य कार्यालय कपिलवस्तुले जनाएको छ ।