विराटनगरमा एक उद्योगीमाथि आदलतको गेटमै खुकुरी प्रहार

मोरङ/विराटनगरमा एक उद्योगीमाथि दिउँसै खुकुरी प्रहार भएको छ । भक्तपुरस्थित सूर्यविनायक नगरपालिका–८ का ३२ वर्षीय कलामसिंह लामामाथि खुकुरी प्रहार भएको हो ।

आइतबार दिउँसो साढे ११ बजे विराटनगरस्थित उच्च अदालत सामुन्नेको सडकमा उनीमाथि खुकुरी प्रहार भएको थियो । खुकुरी प्रहारबाट लामाको पेटको दाहिनेतर्फ र पाखुरामा गहिरो चोट लागेको छ । गम्भीर घाइते लामाको विराट नर्सिङको इमर्जेन्सी वार्डमा उपचार भइरहेको छ । उच्च अदालतकै दक्षिणपट्टि रहेको एक वकिलको कार्यालयमा पुगेर दक्षिणतर्फ जाने क्रममा उच्च अदालत परिसर अगाडि आइपुग्दा उनीमाथि खुकुरी प्रहार भएको प्रत्यक्षदर्शीले बताएका छन् ।

पूर्वतर्फबाट आएका अज्ञात आक्रमणकारीले लामालाई आक्रमण गरेको लामासँगै रहेका कटहरी–६ का सुभासकुमार सरदारले बताए । खुकुरी प्रहार गरेर लामालाई लडाएपछि आक्रमणकारी उत्तरतर्फ भागेको सरदारको भनाइ छ । लामाको साथीसमेत रहेका सरदारले आक्रमणकारीलाई आफूहरुले चिन्न नसकेको समेत बताए । घाइते लामाले बितेको दुई वर्षयता कटहरी गाउँपालिका–६ मा मोरङ राजधानी इँटा उद्योग सञ्चालन गर्दै आएका छन् ।

व्यापारिक लेनदेनका कारण लामामाथि आक्रमण भएको हुन सक्ने आशंका गरिएको छ । सो विषयमा प्रतिक्रिया दिँदै जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डीएसपी दीपक श्रेष्ठले लामालाई खुकुरी प्रहार गर्ने विराटनगर–११ का २७ वर्षीय विमल कार्कीलाई नियन्त्रणमा लिएको बताए । यतिखेर अनुसन्धान जारी रहेकाले खुकुरी प्रहारको कारण खुल्न नसकेको उनले बताए ।
यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।