आज ७ वटा जिल्लामा नेपाली कांग्रेसको वडा अधिवेशन

काठमाण्डौ/आज ७ वटा जिल्लामा नेपाली कांग्रेसको वडा अधिवेशन हुँदैछ ।
कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत काठमाडौं, मोरङ, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, बर्दिया, कपिलवस्तु र बाजुरामा आज वडा अधिवेशन हुन लागेको हो ।
केन्द्रीय निर्वाचन समितिका सचिव जगन्नाथ श्रेष्ठले बताए अनुसार ७ जिल्लाका निर्वाचन अधिकृतहरुले वडा अधिवेशन आजै सम्पन्न गर्ने आफूहरुलाई जानकारी दिएका छन । “आज ७ जिल्लाका वडा अधिवेशन हामी सक्छौं,” उनले भने । यसअघि कांग्रेसले ५६ जिल्लामा वडा अधिवेशन सम्पन्न गरिसकेको छ ।
कांग्रेस सभापति शेरवहादुर देउवाको गृह जिल्ला डडेलधुराको वडा अधिवेशन भने विवादित बनेको छ ।
समितिका सचिव श्रेष्ठका अनुसार अझै १३ जिल्लामा वडा अधिवेशन सुरु हुन सकेको छैन । क्रियाशील सदस्यता विवाद समाधान समितिले क्रियाशील सदस्यहरुको सूची दिन नसक्दा १३ जिल्लाको अधिवेशन हुन नसकेको हो ।
क्रियाशील सदस्यता विवाद समाधान समितिले आइतबार धनुषा र कैलालीका विवादित स्थानहरुको क्रियाशील सदस्यता मिलाउने काम सकिएको बताएको छ । तर, यी दुई जिल्लाको क्रियाशील सदस्यता सूची केन्द्रीय निर्वाचन समितिलाई उपलब्ध गराइएको छैन । बाँकी रहेका १३ मध्ये ११ जिल्लामा पनि विवाद मिल्यो भन्दै आइतबारै प्रचार गरिएको थियो ।

क्रियाशील सदस्यता छानबिन समितिका एक सदस्यका अनुसार सप्तरी, बारा, रौतहट, रसुवा, बाँके र डोल्पाको क्रियाशील सदस्यता विवाद अझै मिलेको छैन । रसुवामा संस्थापन पक्षले नयाँ शक्तिबाट आएकाहरुलाई क्रियाशील सदस्य मान्नै अस्वीकार गरिरहेका कारण समस्या समाधान हुन सकेको छैन । यद्यपि संस्थापनले यसलाई स्वीकार गरिसकेको छैन ।
बाँकेमा विवाद मिलिसक्यो भनिए पनि विवाद समाधानका लागि निर्णय नै गर्न सकेको छैन । त्यस्तै डोल्पामा संस्थापन कमजोर भएका कारण विभिन्न पार्टीका नाममा समायोजन समितिले गरेको निर्णय विपरीत सदस्यता थपिएका कारण समस्या उत्पन्न भएको छ ।
बाराका दुई, सप्तरीका तीन निर्वाचन क्षेत्रमा नयाँ क्रियाशील सदस्यलाई १४औं महाधिवेशनपछि मात्र मान्यता दिने निर्णय भएको छ । त्यो निर्णय सबैले स्वीकारेका छन । तर, पुराना भन्दै नयाँ सदस्यहरुलाई नवीकरण सूचीमा राख्न संस्थापन नै लागेपछि सहमतिको वातावरण बिग्रिएको छ ।