आज विनियोजन विधेयक पारित गर्ने तयारी

काठमाण्डौ/सरकारले आज बस्ने प्रतिनिधि सभा बैठकबाट विनियोजन विधेयक पारित गर्ने तयारी गरेको छ ।

गएको शुक्रवारदेखि सरकारी ढुकुटीबाट रकम खर्चिन नपाएको सरकारले संसदबाट विनियोजन विधेयक पारित गर्ने तयारी गरेको हो ।

संघीय संसद भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने प्रतिनिधि सभा बैठकको सम्भावित कार्यसूचीमा अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयक पारित गरियोस् भन्ने प्रस्ताव राख्नुहुनेछ ।
आज एकै दिन छलफल सकाएर पारित गरियोस् भन्ने प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूूची छ । प्रतिनिधि सभाबाट विनियोजन विधेयक पारित भएमा आज नै राष्ट्रिय सभामा जानेछ । राष्ट्रिय सभाको बैठक भोलि बोलाइएको छ । भदौ २३ देखि सुरु भएको प्रतिनिधि सभा बैठकमा अवरोध गर्दै आएको एमालेले आज पनि अवरोध कायमै रहने जनाएको छ ।