लोकसेवा आयोग सम्बन्धी विधेयक पारित

काठमाण्डौ/लोकसेवा आयोगसम्बन्धी विधेयक राष्ट्रियसभाबाट पारित भएको छ । आज बसेको राष्ट्रिय सभाको बैठकले बहुमतका आधारमा लोकसेवा आयोगसम्बन्धी विधेयक पारित गरेको हो ।
सदन नै चल्न नदिने भनेको प्रमुख प्रतिपक्षी नेकपा एमालेका सांसदहरु सुरुदेखि नै उभिएर विरोध जनाइरहेका थिए । विधेयक पारितका लागि निर्णयार्थ पेश गर्दा पनि उनीहरु उभि नै रहेका थिए ।
२०७६ भदौ २५ गते प्रतिनिधिसभामा पेश भएको लोकसेवा आयोग सम्बन्धी विधेयक प्रतिनिधिसभाबाट ९ असार २०७७ मा पारित भएको थियो ।प्रतिनिधिसभाबाट पारित भएर राष्ट्रियसभामा आएको विधेयकलाई राष्ट्रिय सभाले पनि पारित गरेको छ ।
अब यो विधेयक राष्ट्रियसभाबाट पारित भएको संदेशसहित प्रतिनिधिसभामा जान्छ । प्रतिनिधिसभाले पुनः पारित गरेपछि सभामुख हुँदै राष्ट्रपतिकहाँ पुगेर प्रमाणिकरण भएपछि कानुन बनेर कार्यान्वयनमा जान्छ । सङ्घ र प्रदेशमा लोकसेवा आयोग हुने संवैधानिक व्यवस्था छ ।
पारित विधेयकमा सङ्घ र प्रदेश लोकसेवा आयोगको क्षेत्राधिकार लगायतका विषय समेटिएको छ । यो विधेयक कानुन बनेर कार्यान्वयनमा गएपछि प्रदेश लोकसेवा आयोगले पनि विज्ञापन लगायत कार्य गर्न पाउनेछ ।