भरतपुर महानगरले दियो ३८ किसानलाई दुध दुहुने र घास काट्ने मेसिन।

चितवन/पहिलो पटक किसानको समस्या सुन्ने र किसानलाई उर्जा दिने नेतृत्व आफुहरुले पाएको भरतपुर महानगरका ब्यवसायीक किसानहरुले बताएका छन् । किसानलाई मान्छे नै नगन्ने फोहोरी र गोबर सोह्रोर्ने भनेर हेप्ने नेतृत्वकै कारण चितवनका किसानहरु कृषि पेशामा सम्भावना हुदाँहुदै पनि सफल बन्न नसकेको बिगतको दुखदायी समयबाट अब पार पाएको ठहर आफुहरुले गरेको यहाँका अगुवा किसानहरुको भनाई छ ।

यहाँका मेयर रेनु दाहाल देखी कर्मचारी पनि किसानलाई माया गर्नु पर्छ र कृषिकोे बिकासले नै दिगो बिकास हुन्छ भन्ने ठहर गरीे उहाँहरुले अहिले हरेक दिन जसो किसानलाई राहत हुने कार्यक्रमहरु संञ्चालन गर्नु भएको अगुवा किसान तथा ब्यवसायीक कृषक समाज नेपालका केन्द्रिय सल्लाहकार भागीरथ तिमिल्सिनाले बताए ।अहिले दुधमा प्रतिलिटर ३ रुपैया अनुदान देखी कृषिको बिकासमा किसानहरुलाई उपकरणहरु वितरण गर्ने देखी अरु धेरै कृषिमैत्री कार्यक्रम मेयर रेनु दाहालकै अगुवाईमा भएको तिमिल्सिनाको भनाई छ । आफुहरु महानगरको यो नेतृत्वबाट निकै सन्तुष्ठ बनेका तिमिल्सिनाले बताए ।

युनिक गाई पालन फार्म भरतपुर ७ प्रेमबस्तिका संञ्चालक एवं ब्यवसायीक कृषक समाज नेपालका केन्द्रिय अध्यक्ष आनन्द न्युरेले आफुहरुले धेरै वर्ष पछि बल्ल अभिभावक पाएको महसुस गरेको बताए । भरतपुर महानगर प्रमुख रेनु दाहालको नेतृत्वको टिमले महानगरका किसानहरुको आत्माबल विकास संगै किसानलाई यान्त्रिकरण र ब्यवसायीकरणमा जोड दिदै लगेपछी आफुहरुले अभिभावक पाएको महसुस गरेको उनको भनाई छ । महानगरले किसानका लागी अतिआवस्यक रहेको दुध दुहुने मेसिन र घास काट्ने मेसिन बितरण गरेर ठुलो गुन लगाएको उनको भनाई छ । कृषिमा अथाहा सम्भावना भएकाले धैर्य गरेर काम गर्न पनि उनले आग्रह गरे ।

त्रिबेणी पशुपालन फार्म भरतपुर १५ का संञ्चालक रेशम बहादुर कुवँरले ८ वर्षदेखी पशुपालन गरेको र अहिले सम्म कसैले सहयोग नगरेकोमा मेयर रेनु दाहाल नेतृत्वको टिमले आफुहरु जस्ता किसानको हित गरेको बताए । भरतपुर महानगरपालिका आर्थिक बिकास महाशाखाले महानगरका ब्यवसायीक किसानलाई दुध दुहुने मेसिन र घास काट्ने मेसिन हस्तान्तरण गरेको हो । कृषिमा यान्त्रिकरण र ब्यवसायीकरणमा ध्यान दिदै आएको महानगरको नेतृत्वले अहिले महानगरको कृषिको विकासमा धेरै लगानी गरिरहेको छ ।

महानगरले १७ किसानका लागी दुध दुहुने मेसिन र २१ किसानका लागी घास काट्ने मेसिन बितरण गरेको छ । भ्याट बाहेक १ लाख १० हजार रुपैया लागतको दुध दुहुने मेसिन ७५ प्रतिशत अनुदान र ३० हजार पर्ने मेसिन ५० प्रतिशत अनुदानमा बितरण गरेको हो ।

च्याफकटर गत आर्थिक वर्षको कार्यक्रम अन्तर्गत ११ वटा सत प्रतिशत अनुदान र चालु आर्थिक वर्षको ५० प्रतिशत अनुदानमा १० वटा मेसिन र १७ जना किसानलाई मिल्किगं मेसिन बितरण गरेको महानगरका पशुसेवा शाखाका अधिकृत आठौतह मेखराज ढकालले बताए ।

किसानलाई कसरी अगाडी बढाउँन सकिन्छ भनेर मेयर उपमेयर सहितको टिमले निर्णय गरेर कार्यविधि बनाएर किसानहरुलाई अनुदानका कार्यक्रम संञ्चालन गरिएको भरतपुर महानगर वडा नम्वर १४ का अध्यक्ष एवं आर्थिक संयोजक ओम प्रसाद पोखरेलले बताए । अझै आफुहरुले किसानको बढि भन्दा बढि हित हुने गरी सुधारिएको कार्यविधि बनाउन लागेको र त्यो कार्यविधि बनेपछि त्यही कार्यविधिकै आधारमा अनुदान बाडिने भएकाले सुधारिएको कार्यबिधि तयार भएपछि झन किसानलाई लाभ हुने उनको भनाई छ ।

किसानहरुलाई बितरण गरिएको दुध दुहुने मेसिन र घास काट्ने मेसिन ले किसानलाई धेरै सहजता दिलाउने महानगरका प्रमुख प्रशासकिय अधिकृत भोजराज खतिवडाले बताए । आफुहरुले जे काम गर्छौ नगरवासिकै हितमा त्यो प्रस्ठ देखिने गरी गर्ने उनको भनाई छ । किसानका सबै माग लाई आफुहरुले निति तथा कार्यक्रममा पारेर पारित गरेर लाने पनि उहाको भनाई छ । कृषिको बिकास बाट नै महानगरको बिकास सम्भव रहेको बताउदै उनले आफुहरु किसान संग सहकार्य र हातेमाले गरेर एक मन भएर काम गर्ने बताए ।

कृषिमा यान्त्रिकरण र ब्यवसायीकरण गर्न महानगर लागिहरेको महानगर उपप्रमुख पार्वति शाह ठकुरीले बताईन् । कृषिको बिकास गर्न नसके आफुहरुले चाहेजस्तो समुन्नत महानगर बन्न नसक्ने भएकाले जनप्रतिनिधि महानगरको कृषिको बिकासमा लागेको ठकुरीको भनाई छ । आफुहरुले महत्वका साथ कृषि क्षेत्रलाई हेरेको र सधै किसानको हितमा काम गरीरहने ठकुरीको भनाई छ । उत्पादन लागत घटाउदै किसानलाई कृषिमा आत्मनिर्भर बनाउनु आफुहरुको मुल दाईत्व भएको भन्दै उनले बितरण भएका उपकरणबाट बढि भन्दा बढि लाभ लिन पनि आग्रह गरीन् ।

कृषिमा आधुनीकिकरण ,औजारीकरण र ब्यवसायीकरण गरी किसानलाई अगाडी बढाउने आफुहरुको योजना रहेकाले धेरै भन्दा धेरै किसानलाई यो अभियानमा सहभागी गराउने महानगरको योजना रहेकोे महानगर प्रमुख रेनु दाहालले बताईन् ।

कृषिको बिकासनै महानगर सम्वृदिको मुल आधार भएकाले कृषिको बिकास लाईनै आफुहरुले बढि प्राथमिक्ता दिएको दाहालले बताईन् । आफुहरुले कृषि कर्ममा लाग्ने किसानलाई ब्यवसायीकरण गर्न कार्यविधि बनाएर अनुदानका कार्यक्रम संञ्चालन गरेकोे दाहालको भनाई छ । पहुँचको भरमा अनुदान खाने तर काम गर्ने सच्चा किसानले नपाउने अवस्था सृजना हुन नदिन कार्यविधिले महत्वपुर्ण भुमिका खेलेको उनले बताईन् ।

लागत घटाउने उत्पादन बढाउनेनै आफुहरुको उद्देश्य रहेको र यसैबाट किसानलाई ब्यवसायीकरण गर्न सहजता हुने दाहालको भनाई छ ।सबै खाले किसानलाई सहजता हुने गरी सन्तुलित कार्यक्रम आफुहरुले ल्याएको दाहालको भनाई छ ।

आगामी दिनमा अझ राम्रा राम्रा निति र कार्यक्रम ल्याउनका लागी किसानबाटै राय र सुझाव का आधारमा आफुहरु अगाढी बढ्ने दाहालले बताईन् । आफुहरुले बितरण गरेका उपकरणको प्रभावकारीताका आधारमा आगामी दिनमा थप्दै जाने पनि दाहालले बताईन् ।

महानगरले किसानलाई धान रोप्ने मेसिन, कृषि कर्ममा प्रयोग हुने ट्याक्टर , घासकाट्ने मेसिन देखी दुध दुहुने मेसिन हस्तान्तरण गरिसकेको छ ।