सुजिता भण्डारीको मृत्युलाई लिएर स्थानीयले प्रहरी विरुद्ध नारावाजी गर्दै राजमार्ग बन्द

२१ असार, चितवन । राप्ती नगरपालिका ३ निवासी २३ वर्षीया सुजिता भण्डारी हराएको १० दिनसम्म पनि प्रहरीले घटनाबारे गम्भीर अनुसन्धान नगरेको भन्दै स्थानीयले प्रहरी विरुद्ध नारावाजी गर्दै राजमार्ग बन्द गरेका छन् । घटना सत्य तथ्य छानबिनको माग गर्दै पूर्व पश्चिम राजमार्ग अवरुद्ध गरेका हुन् । प्रहरीले सुजिता भण्डारीको शवलाई अस्पताल लैजान लागेका बेला आफन्त र स्थानीयवासीले नाराबाजी गर्दै राजमार्ग अवरुद्ध गरेका छन् ।
स्थानीयवासीले ट्रक बाटोमा तेर्साएर सडक अवरुद्ध गरे पछि राजमार्ग क्षेत्र तनावग्रस्त बनेको छ ।
असार ११ गते बिहान ६ बजे साथीको घर जाने भनेर हिँडेकी सुजिता सोही दिनदेखि हराएकी थिइन् । उनले सोही दिन १२ बजे दिदीलाई फोन गरेर अपहरणमा परेको बताएको परिवारका सदस्यले बताउँदै आएका छन् ।
जङ्गलमा च्याउ टिप्न गएका स्थानीयवासीहरुले आइतबार साँझ शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । शव गलेको अवस्थामा फेला परेको छ ।
वनको बीचमा एउटा झाङमा अड्किएको अवस्थामा फेला परेको शवको सुजिताका आफन्तले पहिचान गरेका थिए ।
सुजिता भण्डारीको शव भटिएको नजिकै विषादीको बट्टा र एउटा झोला भेटिएको छ । धानमा हाल्ने विषादीको बट्टा र एउटा झोला भेटिएको र सो झोलाको मृतककी दिदीले पहिचान गरेको चितवन प्रहरीले बताएको छ ।