नेकपाले अनियमितता र भ्रष्टाचार विरुद्ध भन्डाफोर र जनकारबाही गर्ने।

चितवन/नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले देशभर जागरण अभियान सहित भन्डाफोरका साथै जनकारबाही अभियान शुरु गर्ने भएको छ । देशमा बढदै गरेको बेथिति, अनियमितता, भ्रष्टाचार र घुसखोरिलाई नियन्त्रण गर्न चितवन जिल्ला लगायत देशभर अभियान संचालन गर्न लागिएको नेकपा चितवनले जनाएको छ।

आज शुक्रबार यहाँ उधोग वाणिज्य संघ चितवनको सभा हल नारायणगढमा आयोजित पत्रकार सम्मेलनमा यसबारेमा जानकारी दिएको हो ।

नेकपा जिल्ला समिति चितवनले आयोजना गरेको सो पत्रकार सम्मेलनमा पार्टीका केन्द्रीय सदस्य एवं जिल्ला ईन्चार्ज सन्देश पौडेलले अभियानका लागि पार्टीले १९ बुंँदे निर्णय समेत सार्वजनिक गरेको जानकारी दिए। देशभर स्थानीय पालिका देखि संघीय संरचना सम्म बेथिति, भ्रष्टाचार, अनियमितिता बढेको भन्दै नेता पौडेलले जनतालाई साथ लिएर यसको नियन्त्रण गर्न अभियानको घोषणा गरेको बताए ।

शुरुवाती चरणमा यस विरुद्ध सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउने, भ्रष्टाचारको भण्डाफोर गर्ने र आवश्यकता अनुरुप जनकारबाही गर्ने सम्मको संघर्षका कार्यक्रमलाई अगाडि बढाउने योजना रहेको बताए ।

कोभिडका कारण जनजागरण अभियानको मिति नतोकिएपनि यस अभियानको अन्त्य ४ महिनामा गरिने उनको भनाई छ । ‘हाम्रो लक्ष्य भनेको वैज्ञानिक समाजबाद हो पौडेलले भने, यसका लागि अहिलेको व्यवस्था परिवर्तन हुनु आबश्यक छ ।’ पार्टीले आफ्नो लक्ष्यप्रति कत्तिपनि विचलित नभएको भन्दै उनले पार्टीले अब घरघरमा गएर जनमत संग्रहको लागि जागरण ल्याइने बताए ।

पत्रकारले सोधेको प्रश्नको उत्तर दिदै नेता पौडेलले सरकारसंँगको तीन बुँदे विषयमा भने, ‘सरकारसंँग हाम्रो तीनबुँदे सहमति भएको हो । तर कार्यान्वयन ढिला भइरहेको छ ।हाम्रा १३५ जना नेता कार्यकर्ता तुरुन्त रिहा हुनु पर्ने माग हो ।’ सरकारसंँग आफ्नो माग र सहमति अनुसार भएको कामप्रति असन्तुष्टी जनाउंँदै पुन संर्घषमा जानुपर्ने उनले संकेत गरे ।

आगामी दिनमा नेत्रविक्रम चन्द विप्लवलाई देशको सत्ता सम्हाल्ने अवसर प्राप्त भएपनि यो संसदीय प्रणाली र व्यवस्था अनुसार सत्ता सञ्चालन नहुने उनको जिकिर थियो ।
कार्यक्रम जिल्ला सेक्रेटरी मीनप्रसाद सापकोटाको अधयक्षतामा सम्पन्न भएको थियो ।