कोभिड महामारीमा नेकपा (माओवादी केन्द्र)ले सिरानचोक गापामा गरेकाे कामकाे विवरणा विज्ञप्ति मार्फत सार्वजनिक गर्याे

उपचारमा सहयाेग देखि श्रद्धाञ्जली सम्म

असार १३, गोरखा / नेकपा (माओवादी केन्द्र) सिरानचोक गाउँ समिति गोरखाले आज एक प्रेस वक्तव्य जारी गर्दै दोस्रो चरणको कोभिड–१९ रोगको फैलावट र संक्रमणबाट उत्पन्न महामारीका क्रममा जनताको जीवन रक्षालाई केन्द्रमा राखेर जनसेवामा सक्रिय भई पार्टीका तर्फबाट सम्पन्न भएका कोभिड परिक्षण, उपचार, नियन्त्रण र उद्धारमा केन्द्रित आफ्ना क्रियाकलापहरुको विवरण सार्वजनिक गरेको छ ।

सिरानचोक गाउँ समितिले जिल्ला सचिवालय सदस्य नवराज पुडासैनीको संयोजकत्वमा कोभिड स्वास्थ्य इकाई, सिरानचोक गठन गरी पार्टी पङ्तिलाई कोभिड बारे सचेतना फैलाउन, विरामीहरुको परिक्षण, उपचार तथा उद्दारमा परिचालन गरेको र सो इकाइ मार्फत कोभिड सचेतना अभियान, कोभिड परिक्षण उपचार तथा परामर्श शिविर संचालन, सिरानचोक गाउँपालिकालाई स्वास्थ्य सामाग्री तथा उपकरण सहयोग, जौवारी प्राथामिक स्वास्थ्य केन्द्रलाई स्वास्थ्य सामाग्री तथा उपकरण हस्तान्तरण जस्ता कार्यहरु सफलतापूर्वक सम्पन्न गरेको जनाएको छ । त्यसैगरि कोभिड–१९ बाट संक्रमित बिरामीहरुलाई पोषण तथा सरसफाई सामाग्री बितरण, ‘माक्स लगाऔं, कोभिड भगाऔं’ अभियान संचालन, संक्रमित बिरामीलाई औषधी बितरणलगायतका समुदाय केन्द्रित कार्यहरु पनि सम्पन्न गरेको प्रेस वक्तव्यमा उल्लेख छ ।


कोभिड स्वास्थ्य इकाई, सिरानचोकका संयोजक नवराज पुडासैनीका अनुसार रोगको पहिचान नभई समुदाय भयवित भएको अवस्थामा कोभिड स्वास्थ्य इकाई, सिरानचोकको समन्वयमा गाउँपालिकाको वडा नं. ८ जौवारीमा वैशाख ३१ गते, वडा नं. ६ को चिलाउने गाउँमा जेठ ५ गते नेकपा (माओवादी केन्द्र)का वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ निजि सचिवालय अन्तर्गत कोभिड–१९ स्वयं सेवा (सिवियस) मार्फत कोभिड परिक्षण, उपचार तथा परामर्श शिविर संचालन गरी कोभिड संक्रमण पुष्टी भएकाहरुलाई औषधी र परामर्श प्रदान गरिएको थियो ।
कोभिड स्वास्थ्य इकाईकै पहलमा पार्टीका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्य चुडामणि खड्काद्वारा सिरानचोक गाउँपालिका कार्यालयलाई संस्थागत रुपमा एक वटा अक्सिजन कन्सन्ट्रेटर, ७५ वटा एन्टीजेन किट, ६६ सेट पिपिइ, २०००० सर्जिकल माक्स, ४० लिटर सेनीटाइजर र १० पिस फेस सिल्ड हस्तान्तरण गरिएको विज्ञप्तिमा जनाइएको छ ।


राधा पौडेल फाउण्डेसन काठमाडौको सौजन्यमा प्राप्त २ वटा अक्सिजन कन्सन्ट्रेटर, ३ वटा बेड सेट, ३ वटा बेड साइड लकर, ३ वटा आइ. भि. ड्रिप स्ट्याण्ड, ३ वटा नेवुलाइवर, ५ वटा पल्स अक्सिमिटर, १५ सेट पिपिइ, ७५ पिस फेस सिल्ड, २५ वटा डिग्निटी किट, १ पिस बि.पि सेट र २५ प्याकेट प्याड जौवारी प्राथामिक स्वास्थ्य केन्द्रलाई हस्तान्तरण गरिएको कोभिड स्वास्थ्य इकाई, सिरानचोकले जनाएको छ ।
यसै बिच कोभिड–१९ संक्रमण भई घर घरमा आइसोलेसनमा बसेका गाउँपालिका भरीका ८७ जना बिरामीहरुलाई घरमा नै पुगेर पोषण तथा सरसफाई सामग्री बितरण गरिएकाेे थियो । यसरी बितरण गरिएको सामग्रीमा प्रति बिरामी १० देखि १५ पिस अण्डा, २ किलो गेडागुडी, १५ पिस सर्जिकल माक्स, सेनीटाजर, साबुनलगायतका समाग्रीहरु रहेका थिए । वडा नं ३ को हर्मी लगायत अन्य केहि वडाहरुमा वितरित कम्बो प्याकमा भने हर्लिक्स, ग्लुकोज, फलफूल, थर्मोमिटर समेत समाबेश थियो । गाउँपालिकाको ८ वटै वडामा कोभिड–१९ को संक्रमण फैलिएको तथा संक्रमणको जोखिममा रहेका बस्तीहरु पुगि माक्स लगाऔं, कोरोना भगाऔं अभियान संचालन गरी प्रति घर १५ देखि ५० पिस गरि कूल २३८०० सर्जिकल माक्स बितरण गरिएको थियो हो । संक्रमण पुष्टी भएका सिरानचोक ८, जौवारीका संक्रमितहरु मध्ये १५ जनालाई स्वास्थ्यकर्मीको सिफारिसमा कोभिड स्वास्थ्य इकाई, सिरानचोकले औषधी पनि वितरण गरेको इकाइका सदस्य दिपक श्रेष्ठले जानकारी दिनुभयो ।

यसै गरी गाउँपालिका भित्रका हालसम्म कोभिड–१९ का कारण दिवंगत हुनुभएकाहरुको स्मृतिमा नेकपा (माओवादी केन्द्र) सिरानचोक गाउँ समितिले असार ११ गते सिरानचोक गा.पा. ८ जौवारीमा पार्टीका बरिष्ठ नेता तथा प्रवक्ता नारायणकाजी श्रेष्ठको उपस्थितिमा एकमुस्ठ श्रद्धाञ्जली अर्पण तथा समबेदना प्रकट कार्यक्रम पनि आयोजना गरेको थियाे । नेकपा (माओवादी केन्द्र) गोरखा जिल्ला सल्लाहकार पूर्ण बहादुर गुरुङ, पार्टी सदस्यहरु लोकनाथ ढकाल, ध्रुव पोखरेल, एकीकृत अखिल नेपाल शिक्षक संगठनका सक्रिय सदस्य अर्जुन पोखरेल, संगठीत सदस्य सुरेश ढकालको नाबालिका छोरी सजिना ढकाल तथा चामुनारायण श्रेष्ठ, कंचन सुनार, शान्ता पोखरेल भट्टराई, गीता पोखरेल, अनिल पोखरेल, ढुण्डीराज गोतामे, रामकृष्ण कुमाल लगायत सिरानचोक गाउँपालिका भित्र कोभिड संक्रमणका कारण ज्यान गुमाएका प्रियजनहरुको स्मृति र सम्मानमा श्रद्धाञ्जली अर्पण तथा परिवारमा समवेदना प्रकट कार्यक्रम सम्पन्न विज्ञप्तीमा जनाईएकाे छ । कार्यक्रममा नेता नारायणकाजी श्रेष्ठले श्रद्धाञ्जली मन्तव्य व्यक्त गर्दै सिरानचोक गाउँ पार्टीको तर्फबाट दिवंगतहरुको सम्मान तथा स्मृतिमा तयार पारिएको श्रद्धाञ्जली तस्विर, सम्बन्धित परिवारजनलाई हस्तान्तरण गर्दै गहिरो समबेदना प्रकट गर्नु भयो भने स्थानीय नेताहरु नवराज पुडासैनी, उद्धव गुरुङ, किरण पन्त, झटक प्रसाद दवाडी, प्रेम ओस्ती, पुष्प दवाडी, शिक्षक राजेन्द्र ढकालसमेतले श्रद्धाञ्जली मन्तव्य व्यक्त गर्नुभएको थियो ।
जनताको जीवन रक्षालाई केन्द्रमा राखेर काम प्रति सिङगो पार्टी पङ्ति, योङ कम्युनिष्ट लिग, जन स्वयंसेवक भएर जनतालाई संक्रमण हुनबाट बचाउने अभियानमा क्रियाशिल हुने र सहयोग गर्ने सम्पूर्णलाई कोभिड स्वास्थ्य इकाई, सिरानचोकले हार्दिक आभारसहित धन्यवाद ज्ञापन गरेको संयोजक नवराज पुडासैनीद्धारा हस्ताक्ष्रित विज्ञप्तिमा जनाइएको छ ।