राष्ट्रिय सभा उपचुनावको उम्मेदवारी दर्ता आज, सत्तारूढ एमालेबाट उम्मेदवारी टुंगाे लागेन

जीतकाे ग्यारेन्टी नभए बादलले उम्मेदवारी नदिने

२४ वैशाख, काठमाडौं । राष्ट्रिय सभाको लागि हुन लागेको उपनिर्वाचनका लागि आज मनोनयन दर्ता हुने भएकाे छ । वाग्मती प्रदेश अन्तर्गत अन्य समूहतर्फको रिक्त एक सिटका लागि आज मनोनयन दर्ता गर्न लागिएको हो ।
उम्मेदवारी दर्ताको समय विहान १० बजेदेखि ४ बजेसम्म निर्धारण गरिएको छ । यद्यपि सत्तारुढ नेकपा एमालेले उम्मेदवार अझै टुंगो लगाउन सकेको छैन ।
२०७४ सालको निर्वाचनमा नेकपा माओवादी केन्द्रका तर्फबाट नेता रामबहादुर थापा ‘बादल’ यो क्षेत्रबाट निर्वाचित भएका थिए । पछि नेकपा एमालेमा प्रवेश गरेका थापाको सांसद पद कारवाहीका कारण गुमेकाले आगामी जेठ ६ गते उपनिर्वाचन हुन लागेको हो ।
खाली भएको यो क्षेत्रमा एमालेले बादललाई नै पुनः उम्मेदवार बनाउन चाहेको छ भने बादल जितको ग्यारेन्टी नभएसम्म उम्मेदवारी नदिने अडानमा छन् । जसका कारण अहिलेसम्म एमालेको तर्फबाट उम्मेदवार टुंगाे लागेकाे छैन् ।
संयुक्त गठबन्धनको तर्फबाट भने यो पदमा डा. खिमलाल देवकोटाले उम्मेदवारी दिने भएका छन् । देवकोटा माओवादी, कांग्रेस र जसपाको संयुक्त उम्मेदवार हुन् । उनी माओवादी केन्द्रको चुनाव चिह्नबाट चुनाव लड्ने सहमति यसअघि विपक्षी दलहरुबीच भएको थियो ।
राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचनका लागि निर्वाचन आयोगले वाग्मती प्रदेशको राजधानी हेटौंडामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ ।
राष्ट्रियसभा सदस्य पदमा जेठ ६ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुने आयोगले जनाएको छ । राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्नेछन् ।