काेराेनाकालमा अन्य व्यवसाय टाट पल्टिदै बैंकको व्यवसाय भने साढे २५% ले वृद्धि

कोभिड–१९ को १ वर्षबीचमा नेपालको अर्थतन्त्रमा व्यापक क्षति पुर्‍याए पनि वाणिज्य बैंकहरूको व्यवसायमा भने खासै प्रभावित भएको देखिँदैन ।

अधिकांश उद्योग तथा व्यवसाय प्रभावित भए पनि गत आर्थिक वर्ष (आव) २०७६/७७ को चैतसम्मको तुलनामा चालू आव २०७७/७८ को सोही अवधिसम्म बैंकहरूको कर्जा प्रवाह थप २५ दशमलव ६३ प्रतिशतले वृद्धि भएको छ ।

यसअवधिमा २७ ओटा वाणिज्य बैंकहरूबाट ७ खर्ब २९ अर्ब रुपैयाँ बराबरको थप कर्जा प्रवाह भएको छ । वाणिज्य बैंकहरूबाट कर्जा वृद्धि हुँदा चालू आवको चैतसम्ममा कुल कर्जा प्रवाह रू.३५ खर्ब ७३ अर्ब पुगेको छ । यसअघिको चालू आवसम्ममा वाणिज्य बैंकको कुल कर्जा २८ खर्ब ४४ अर्ब रुपैयाँ पुगेको थियो ।

गत आवको चैत १० गतेदेखि यता ३ महीनासम्म पूर्णरूपमा बन्दाबन्दी भयो र यसपछि आंशिक रूपमा खुले पनि यस बीचको १ वर्षमा वाणिज्य बैंकहरूको व्यवसाय सन्तोषजनक भएको बैंकरहरू बताउँछन्। यो खबर आजको आर्थिक अभियान दैनिकमा समाचार छापिएको छ।