दाऊन्नेमा दुर्घटना हुँदा ३१ जन घाईते।

चितवन/नारायणघाट बुटवल राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरस्थित दाउन्नेमा हिजो बस दुर्घटना हुँदा ३१ जना घाइते भएका छन् ।
घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ। हिजो साँझ नवलपुरको विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेमा बस आफैँ अनियन्त्रीत भई सडकबाट तल खसेको हो । बुटवलबाट नारायणगढका लागि छुटेको ना ५ ख ७००० नंको यात्रुबाहक बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए ।

प्रहरीका अनुसार सडकबाट तल भिरमा बस खसेकाले घाइतेको उद्धारमा समेत कठिनाइ भएको थियो । जिल्ला प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय दुम्किबासको प्रहरी टोलीले घाइतेको उद्धार गरेका थिए । साँझ ६ बजे बस दुर्घटनामा परेको थियो । प्रहरीले दुई घण्टा लगाएर घाइतेको उद्धार गरेको थियो।

घाइतेमध्ये २३ जनाको मध्यविन्दु जिल्ला अस्पताल डण्डा, तीन जनाको भरतपुर र अन्यको स्थानीय मेडिकलमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक गिरीले बताए । बसमा सवार सबै ३१ यात्रु घाइते भएको प्रहरीले बताएको छ । दुर्घटनाको विस्तृत विवरण भने अझै आउन बाँकी रहेको छ।