चितवनमा दुर्घटना बढ्दै: आज मात्र दुई दुर्घटनामा ७ को मृत्यु दर्जनौं घाईते।

पूर्वी चितवनमा ट्याक्टर दुर्घटना, ५ जनाकाे मृत्यु

२९ चैत, चितवन । चितवनमा दैनिक रूपमा दुर्घटना बढिरहेको छ। जिल्लामा आज मात्र दुई छुट्टाछुट्टै दुर्घटनामा परि ७ जनाको मृत्यु हुनुका साथै दर्जनौं घाईते भएका छन्। बिहान पश्चिम चितवनको रामपुर बजार नजीकै म्याजीक भ्यान दुर्घटना हुँदा दुईको मृत्यु र करिब आदा दर्जन घाइते भएका थिए। चितवनकै पूर्वी क्षेत्र अर्थात पूर्वी चितवनको राप्ती नगरपालिकामा एउटा ट्याक्टर दुर्घटना हुँदा साँझ फेरि पाँच जनाको मृत्यु भएको छ ।

राप्ती नगरपालिका वडा नम्बर ११ स्थित चिउरी खोलामा आज आइतबार बेलुका ना १ त ६२८२ नम्बरको ट्याक्टर दुर्घटना हुँदा ५ जनाको घटनास्थलबाट उपचारको क्रममा अस्पताल लैजाने क्रममा मृत्यु भएको प्रहरीले जनाएको हो।

प्रहरीका अनुसार दुर्घटनामा मृत्यु हुनेहरुमा चितवनको राप्ती नगरपालिका ५ का ३५ वर्षीय खड्क लामा, चितवनको खैरहनी नगरपालिका ९ का ४० वर्षीय मगन महतो, खैरहनी ९ कै ५० वर्षकी छनिया महतो र राप्ती ४ का ४५ वर्षीय सिताराम श्रेष्ठ रहेको चितवन प्रहरीले जनाएको छ । एकजना अन्दाजी २४ वर्षीय पुरूषकाे पहिचान खुल्न बाँकी  रहेको प्रहरीले बताएको छ।

उपचारको क्रममा पुरानो मेडिकल कलेजमा चारजना र भरतपुर अस्पतालमा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रवक्ता डिएस सूर्य थापाले जानकारी दिए ।

वडा नम्बर ११ को वडा कार्यालय भवनको ढलानको काम सकेर फर्किंदै गरेका कामदार सवार ट्याक्टर दुर्घटना भएको प्रहरीले जनाएको छ।

ट्याक्टरमा सवार १७ जना घाइते भएका छन् । घाइतेहरुमध्ये ६ जनाको अवस्था गम्भीर छ । घाइतेहरुको भरतपुरस्थित पुरानो मेडिकल कलेज र भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।

चितवनमा आज आइतबार नै बिहान पश्चिम चितवनको रामपुर नजिकको एक कलभोटमा भ्यान दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको थियो ।