राष्ट्रपति सी चिनफिङको सन्देश बोकेर आए चिनियाँ नेता नेपालमा।

काठमाडौं/नेपालमा राजनीतिक अस्थिरता भइरहेको बेला चिनियाँ राष्ट्रपति सी चिनफिङको सन्देश बोकेर नेपाल आएका चिनियाँ कम्युनिस्ट पार्टीका नेता तथा अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येझाउको टोलीले राजनीतिक भेटघाट थालेको छ । तत्कालीन नेकपा एमाले र एकीकृत नेकपा माओवादीलाई एक ठाउँमा ल्याउन भूमिका खेलेका उपमन्त्री येझाउ नेकपा विभाजनको संघारमा पुगेको बेला नेपाल आएका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रतिनिधिसभा विघटन भएसँगै नेकपामा फाटो आएको थियो । नेकपा विभाजनको संघारमा पुगेपछि चिनियाँ कम्युनिस्ट पार्टी चिन्तित बनेको चिनियाँ सञ्चारमाध्यमले उल्लेख गरेका छन् । काठमाडौं ओर्लेलगत्तै उपमन्त्री येझाउको टोलीले आइतबार राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट गरेको छ ।

प्रतिनिधिसभा विघटन गरेर निर्वाचन घोषणा गरेपछि आश्चर्यचकित बनेको चीन नेकपा पार्टी विभाजनबाट चिन्तित रहेको चिनियाँ सरकारी सञ्चारमाध्यमले जनाएका छन् । उनीहरूको भ्रमण नेकपालाई एकजुट बनाउने प्रयासमा केन्द्रित हुनेछ । यसअघि पनि नेकपामा विवाद भएको बेला चिनियाँ राजदूत होउ यान्छीले विशेष भूमिका निर्वाह गरेकी थिइन् । अहिलेको पछिल्लो राजनीतिक अवस्था जटिल मोडमा पुगेपछि भने चिनियाँ राजदूत यान्छीले नेकपा फुटको संघारमा पुगेको बिफ्रिङ गरेपछि चिनियाँ कम्युनिस्ट पार्टीले चासो देखाएको हो ।

चिनियाँ कम्युनिस्ट पार्टीको टोलीको भ्रमणको विषयमा छिमेकी भारतले भने निकै चासोका साथ हेरेको छ

चिनियाँ टोलीले नेकपाका नेतालाई पद छाडेर भए पनि पार्टी एकता कायम राख्न सुझाव दिएको बुझिएको छ । तर नेकपाको आन्तरिक कलहका कारण पछिल्लो समय एक पक्षले अर्को पक्षको कुरा सुन्न नसक्ने अवस्था सिर्जना भएको छ । प्रतिनिधिसभा विघटनपछि नेकपा विभाजनको विषयमा एक शब्द नबोलेको चीनले अकस्मात् पठाएको चिनियाँ टोलीले कस्तो भूमिका निर्वाह गर्छ भन्ने चासोको विषय रहेको छ ।

चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येझाउ नेतृत्वको ६ सदस्यीय टोली एयर चाइनाको चार्टर्ड विमानबाट चार दिनका लागि काठमाडौं आइपुगेको हो । नेपालका मामिलाको विषयमा समेत उनी जानकार रहेका छन् । उनीहरूले नेकपाको एकता कायम राख्नकै लागि नेकपा नेताहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’, झलनाथ खनाल, माधवकुमार नेपाल, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, कृष्णबहादुर महरालगायतका नेताहरूलाई भेट्ने कार्यक्रम छ ।

येझाउको टोली २०७४ फागुनमा पनि नेपाल आएको थियो । त्यसको तीन महिनापछि नेकपा एमाले र एकीकृत नेकपा माओवादीले सात बुँदे समझदारी गरेर नेकपा पार्टी बनाउने निर्णयमा पुगेको थियो । दुई पार्टीबीच एकीकरण भई नेकपा पार्टी बनेपछि चिनियाँ कम्युनिस्ट पार्टीले नेकपाका नेता तथा कार्यकर्तालाई प्रशिक्षणसमेत दिएको थियो ।

भारतले नोट गरेको जानकारी दिए पनि चीनले संसद् विघटन र नेकपामा आएको फुटबारे औपचारिक प्रतिक्रिया दिएको छैन । तर नेकपा फुटको विषयमा त्यहाँ राजनीतिक विश्लेषकहरूले भने चिन्ता व्यक्त गरेका छन् । चिनियाँ कम्युनिस्ट पार्टीको टोलीको भ्रमणको विषयमा छिमेकी भारतले भने निकै चासोका साथ हेरेको छ । खासगरी भारत र अमेरिकाबीचको साझदारीपछि चीनले नेपालको आन्तरिक राजनीतिमा चासो देखाएको छ । सीमा विवादका कारण सम्बन्धमा चिसोपन आएको भारत र चीनले नेपालको भूराजनीतिक अवस्थाबारे नजिकबाट नियालिरहेका छन् ।

चीनले आफ्नो सीमा सुरक्षाका लागि विशेष ध्यान दिँदै नेपालको भूमि उपयोग हुन नदिने नीतिका साथ नेपालको कम्युनिस्ट पार्टीलाई एक ढिक्का राखेर आफ्नो रणनीतिक योजनामा हिँडाउन खोजेको देखिन्छ । यता भारतले नेपालसँगको सांस्कृतिक र ऐतिहासिक सम्बन्धलाई कायम राख्न पनि भरपुर प्रयास गरिरहेको छ । यो खबर आजको राजधानी दैनिकमा छापिएको छ।