प्रचण्ड बादलको दोस्रो पटक सम्बन्धबिच्छेद, अन्ततः पुगे ओली समूहमा।

राजनीतिको अधिकांश समय एउटै मोर्चामा रहेका पुष्पकमल दाहाल प्रचण्ड र रामबहादुर थापा बादलबीच दोस्रो पटक सम्बन्धविच्छेद भएको छ ।
यसअघि २०६९ सालमा दाहाल नेतृत्वको माओवादीबाट अलग भएका थापा बिहीबार विधिवत् रूपमै ओलीको नेकपामा विलय भएका छन् । थापाको राजनीतिक पृष्ठभूमि र सिद्धान्त ओलीसँग मिल्नेखालको छैन । उनले बिहीबार ओली नेकपाको मञ्चमा गरेको भाषण क्रान्तिकारी माओवादीको प्रखर नेताको जस्तै सुनिएको थियो ।
उनले बारम्बार क्रान्ति, प्रतिक्रान्ति, अग्रगमन र पश्चगमनजस्ता शब्द प्रयोग गरेका थिए । थापाले नेकपाको अर्को समूह व्यवस्था परिवर्तनमा लागेको र उनीहरूलाई संघीयता र गणतन्त्र फिटिक्कै मन नपरेको बताइरहँदा उनैले मोहन वैद्य नेतृत्वको पार्टीबाट ल्याएका ३४ जना केन्द्रीय सदस्य भने त्यही समूहको बैठकमा बसेर ‘थापाले राजनीतिक भविष्य ध्वस्त पारेको’ मूल्यांकन गरिरहेका थिए ।
दुवै खेमाको तानातानमा परेका थापालाई बिहीबार बिहानको भेटपछि ओलीले फकाउन सफल भएका हुन् । पार्टी उपाध्यक्ष र सरकारमा उपप्रधानसहित गृृहमन्त्री बनाउने ओलीको आश्वासनपछि थापा उतै खुले । तर उनी एक्लै ओलीको खेमामा गएका हुन् । यो खबर आजको कान्तिपुरले छापेको छ ।