लुकिछिपी नेपाल प्रवेशले काठमाडौं उच्च जोखिममा

वीरगन्ज/७ असोज/लकडाउन सुरु भएयता नेपाल–भारत सीमा नाकाबाट मालवाहक गाडीबाहेकका सवारीसाधन र मानिसको आवागमन औपचारिक रूपमा बन्द छ। तर सीमापारिबाट लुकीछिपी प्रवेश भने रोकिएको छैन।

यसरी आउनेमा अधिकांश एक लाख ६९ हजार कोरोना संक्रमित रहेको सीमावर्ती भारतको बिहार राज्यका मानिस छन्। उनीहरूको मुख्य गन्तव्य काठमाडौं उपत्यका हो। लुकीछिपी भित्रिने क्रम जारी रहेकाले नेपालमा संक्रमण फैलिने जोखिम उच्च रहेको छ। आगामी दिनमा उनीहरुका कारण विशेषगरी काठमाडौं संक्रमणको उच्च जोखिममा पर्ने सरोकारवाला बताउँछन्।

चैत १० गते मन्त्रिपरिषद् बैठकले नेपालसँग जोडिने भारत र चीनका नाका बन्द गर्ने निर्णय गरेको थियो। त्यसपछि पटकपटक सीमानाका बन्द हुने निर्णयले निरन्तरता पाइरहेको छ। पछिल्लो पटक भदौ २९ को सरकारी निर्णयअनुसार असोज मसान्तसम्म सीमानाका बन्द हुनेछन्। मालवाहक गाडीबाहेक अन्य सीमानाकाबाट आवतजावत गर्न नपाइने निर्णय भए पनि भारतबाट मानिस लुकीछिपी नेपाल प्रवेश गर्ने क्रम रोकिएको छैन।

पर्साका प्रमुख जिल्ला अधिकारी आसमान तामाङले सीमानाकाबाट मानिस आवतजावत रोक्न सुरक्षा व्यवस्था कडा बनाइएको बताए। ‘सुरक्षा व्यवस्था पूरै कडा पारिएको छ तर पनि सीमापारिबाट मानिस पसिरहेको पाइएको छ,’ प्रमुख जिल्ला अधिकारी तामाङले भने, ‘भारतबाट लुकीछिपी आएका २६ जनालाई सोमबार वीरगन्जका विभिन्न ठाउँबाट समातेर उतै फर्काएका छौं।’ खल्वा टोला, सिर्सिया अलौं, छपकैया, इनर्वा र बलीरामपुरजस्ता छोटी नाकाबाट भारतीय आइरहेका छन्। ‘अब काठमाडौं कोरोना संक्रमणको सबैभन्दा बढी जोखिममा पर्न सक्छ। जसरी नेपाली ताँती लागेर रोजगारीका लागि भारत पसेका छन् त्यसरी नै भारततीय पनि नेपाल आइरहेका छन्। यसरी कामका लागि आउने भारतीयको मुख्य गन्तव्य काठमाडौंलगायतका सहर हुन्,’ मिडिया फोर बोर्डर हार्मोनीका अध्यक्ष अनिल तिवारीले भने, ‘भारतीयहरू मुख्य नाकाभन्दा पनि अनौपचारिक बाटोबाट प्रवेश गरिरहेका छन्। नेपाल–भारतबीच रोटीबेटीको सम्बन्ध पनि छ, यसलाई रोक्न सकिँदैन, निगरानी बढाएर न्यून भने गर्न सकिन्छ।’ वीरगन्जमा मंगलबार बिहान ११ बजेदेखि काठमाडौं जाने टाटासुमो पाइएको थिएन। ‘सबै गाडी प्याक भएर गइसकें। ढाँट्नु किन। आधा स्थानीय र आधाजति भारतबाट आएका अहिलेका यात्रु हुन्,’ टाटासुमो टिकट काउन्टरका इन्चार्जले भने, ‘पाँचजनामात्र यात्रु बसाल्नुपर्ने भएकाले पनि गाडीहरु प्याक भएर गइरहेका छन्। यात्रुलाई मास्क लगाएर मात्र हामीले बस्न दिएका छौं।’

वीरगन्जबाट करिब ४० वटा टाटासुमो काठमाडौंका लागि चल्छन्। एउटाले पाँचजनाका दरले बोक्दा यहाँबाट दैनिक दुई सयको हाराहारीमा काठमाडौं गएको देखिन्छ। जसमध्ये आधाजति भारतीय भएको यातायात व्यवसायी बताउँछन्। काठमाडौंका लागि दिनमा चल्ने दर्जनजति बसले पनि आधाजति भारतीय यात्रु बोक्छन्। वीरगन्ज र कलैयाबाट काठमाडौं र बनेपाका लागि चल्ने २ दर्जनजति रात्रि बसमा पनि भारतीय यात्रु हुन्छन्। वीरगन्जबाट दैनिक ३ सयजति भारतीय काठमाडौंलगायतका सहरमा गइरहेका छन्। सीमावतीय भारतीय राज्इ बिहारमा अहिले कोरोना संक्रमण उच्चगतिमा फैलिएको छ। त्यहाँ कोरोना परीक्षण पर्याप्त मात्रामा भइनरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

नेपालमा दिनहुँ बिहारतिरबाट भारतीयको प्रवेश संक्रमणका हिसाबले चिन्ताको विषय रहेको सरोकारवालाले बताएका छन्। ‘कोरोना भाइरस एक मानिसबाट अर्कोमा हुँदै संसारको कुनाकुनामा फैलिएको हो, यसको रोकथामको एक उपाय संक्रमित क्षेत्रबाट हुने आवगमन रोक्नु पनि हो। हामीकहाँ संक्रमण स्वाभाविक रुपमा भारतबाटै आउने मानिसबाट फैलिने गरेको छ,’ पर्सा १ बाट निर्वाचित सांसद प्रदीप यादवले भने, ‘यसअघि पनि यस्तो देखिसकिएको छ। त्यस कारणले हामीले स्थानीय प्रसाशन र सुरक्षा अधिकारीलाई लिएर सीमानाका निरीक्षण गरी कडाइ गर्न भनेका छौं।’ भदौ ३० मा पर्सा ४ बाट संघीय प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका लक्ष्मणलाल कर्ण र सांसद यादवले सुरक्षा अधिकारीसहित सीमानाका निरीक्षण गरी आवतजावतमा कडाइ गर्न निर्देशन दिएका थिए। प्रमुख जिल्ला अधिकारी तामाङ, सशस्त्र प्रहरी बल प्रदेश २ का प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक कृष्णभक्त ब्रह्मचार्यसहितको सुरक्षा अधिकारी टोलीमा थिए। नागरिक दैनिकमा समाचार छ ।