नेपालको क्षेत्रफल अब १ लाख ४७ हजार ४९१ वर्गकिलोमिटर

काठमाडौँ/नेपालको नक्सामा पहिलोपटक लिम्पियाधुरा पनि समेटिने भएको छ । सुगौली सन्धिले महाकाली नदी सीमानदी भने पनि नेपालको नक्सा कालीको मुहानभन्दा तीन सय १० वर्गकिमियता लिपुलेकसम्म मात्र अंकित थियो ।

कालीको मुहान लिम्पियाधुरादेखि लिपुलेकसम्म भारतले अतिक्रमण गरेको नेपाली भूमि समेटेर नक्सा जारी गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको छ । अब नेपालको नक्सा प्रयोग भएका हरेक सरकारी दस्ताबेजमा छाप पनि परिवर्तन हुनेछ ।

४ मार्च सन् १८१६ मा नेपाल र तत्कालीन इस्टइन्डिया कम्पनीबीच भएको सुगौली सन्धिको धारा ५ अनुसार कालीनदीलाई सीमानदी भनिएको छ । तर, ब्रिटिस भारत र भारत सरकारले जारी गरेका नक्सामा भरपर्दा नेपाली भूमि नेपाली नक्सामा परेको थिएन ।

सीमाविद् तथा नापी विभागका पूर्वमहानिर्देशक बुद्धिनारायण श्रेष्ठ भन्छन्, ‘सुगौली सन्धिपछि सन् १८२७ मा सर्भे अफ इन्डियाले तयार गरेको अल्मोडाको नक्सामा लिम्पियाधुराबाट बग्ने नदीलाई रिभर अफ काली भनिएको छ भने त्यसपूर्व नेपाल र पश्चिम इन्डिया भनिएको छ ।’

त्यस्तै, सन् १८५६ मा सर्भे अफ इन्डियाले कलकत्ताबाट प्रकाशित नक्सामा पनि लिम्पियाधुराबाट बग्ने नदीलाई रिभर अफ काली भनिएको श्रेष्ठको भनाइ छ । ‘तर, ब्रिटिस अधिकारीहरूले सन् १८७९ र त्यसपछि जारी गरिएका नक्सामा भने कार्टोग्राफिक संकेत चिह्नबाट कालापानी र लिपुलेकलाई भारततर्फ पारियो,’ उनी भन्छन् । त्यसपछिका नक्सामा लिम्पियाधुराभन्दा तीन सय १० वर्गकिलोमिटरयता लिपुलेकबाट बग्ने टिंकर खोलालाई कालीनदी भनिएको छ ।

नेपाल आफैँले नक्सा तयार पारेको वि।सं। ०३२ सालमा हो । नक्सा तयार पार्न राष्ट्रसंघका तर्फबाट एचई क्यालावे र विभागका तर्फबाट नक्सा तयार गर्ने महाशाखा प्रमुख पुण्यप्रसाद ओलीको नेतृत्वमा टोली खटिएको थियो । पछि नापी विभागका महानिर्देशकसमेत भएका ओलीका अनुसार नक्सा तयार पार्दा लिम्पियाधुरासम्मको भूमि समेटिएको थियो । तर, तत्कालीन पञ्चायती सरकारले अहिले लिपुलेकसम्मको भूमि मात्र समेट्नू भनेर आदेश दिएपछि नक्सा संशोधन गरेर प्रकाशित गरिएको उनी बताउँछन् । ‘भारतसँग संयुक्त सीमा सर्भे नगरुन्जेल लिपु भञ्ज्याङसम्म मात्र समेटेर नक्सा गर्नू, पछि लिम्पियाधुरासम्मको नक्सा जारी गरौँला भन्ने सरकारको आदेश थियो,’ ओलीले भने । यो समाचार आजको नयाँ पत्रीका दैनिकमा छ ।