नेपालकै ठूलो अन्तर्राष्ट्रिय पोल्ट्री एक्स्पोको तयारी अन्तिम चरणमा

भरतपुर/चितवन प्रदर्शनी केन्द्रको सभाहलमा फागुन १६ देखि १८ गतेसम्म सञ्चालन हुन लागेको नेपालकै ठूलो अन्तर्राष्ट्रिय पोल्ट्री एक्स्पोको तयारी अन्तिम चरणमा पुगेको छ ।
स्वदेशी तथा विदेशी गरी दुई सयभन्दा बढी प्रदर्शकको स्टल रहने एक्स्पोमा नेदरल्यान्ड, चीन, अमेरिका, टर्की, मलेशिया, इजरायल, भारत लगायत १३ देशका स्टल रहने र एक्स्पो अवधिभर पोल्ट्री महासंघको गोष्ठी, बैठक, अन्तक्र्रिया कार्यक्रम समेत रहने नेपाल पोल्ट्री महासंघका अध्यक्ष गुणचन्द्र विष्टले बताए ।

नेपाल पोल्ट्री महासंघको आयोजना र मिडिया स्पेश सोलुसन्स तथा फ्युचरेन्स ट्रेड एण्ड इभेन्ट प्रालिको सहकार्यमा एक्स्पोको आयोजना हुन लागेको नेपाल पोल्ट्री महासंघका महासचिव दिनेशराज मिश्रले जानकारी दिए । उनका अनुसार प्रदर्शनीमा पोल्ट्रीका आधुनिक यन्त्र, प्रविधि, गुणस्तरीय औषधि, फिड सप्लीमेन्ट्स, डेरी उद्योग, दाना उद्योग र ह्याचरी लगायतका स्टलहरू रहनेछन् ।

देशभरमा पोल्ट्रीको ठूलो हिस्सा ओगटेको चितवन जिल्लालाई पोल्ट्रीको राजधानी मानिन्छ । नेपालमा पोल्ट्री क्षेत्रमा भएको एक खर्ब २० अर्ब रुपैयाँभन्दा बढीको लगानीमध्ये ६० प्रतिशत लगानी चितवनमा छ । प्रदर्शनीमा प्रविधिको प्रदर्शनमात्र नगरी पोल्ट्री क्षेत्रमा भएका समस्या, रोग र त्यसको निराकरणका विषयमा पोल्ट्री पाठशाला समेत आयोजना गरिने आयोजकको भनाइ छ । अन्तर्राष्ट्रिय पोल्ट्री एक्स्पो प्रत्येक २–२ वर्षमा आयोजना हुँदै आएको छ ।