भरतपुर महोत्सवको तयारी पुरा, शुक्रबार प्रचण्डले उद्घाटन गर्ने

चितवन/१५ फागुन/भरतपुरको केन्द्रीय बस टर्मिनलमा आयोजना हुने प्रथम भरतपुर साँस्कृतिक तथा कृषि, उद्योग पर्यटन, व्यापार महोत्सव २०७६ को तयारी पूरा भएको छ । महोत्सवको भोलि (शुक्रबार) पूर्व प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षले उद्घाटन गर्ने कार्यक्रम रहेको महोत्सव आयोजक समितिले जनाएको छ । विभिन्न कारणले पटक पटक सरेको महोत्सव शुक्रबार उद्घाटन हुने उल्लेख गर्दै महोत्सवका मूल संयोजक एवम् भरतपुर बजार व्यवस्थापन समितिका अध्यक्ष श्याम पौडेलले महोत्सव २७ गतेसम्म सञ्चालन हुने जानकारी दिए । महोत्सवको स्टल निर्माण, स्वागत द्वार निर्माण, मञ्च व्यवस्थापनसहितका सम्पूर्ण काम सकिएको उल्लेख गर्दै पौडेलले महोत्सव सुरु हुनु अगाडि महोत्सव स्थल केन्द्रीय बस टर्मिनलबाट विभिन्न संघसंस्थाको झाँकी सहितको शोभायात्रा निकालिने बताए ।
महोत्सवको आकर्षणको रुपमा बीस हजारी तालको आकृति, थारु तथा चेपाङ समुदायको साँस्कृतिक घर सहित मालिका मन्दिरको आकृति महोत्सव स्थलमा निर्माण गरिएको छ । सो महोत्सवमा पोल्ट्री, केरा, माछा, दूधलगायतका उत्पादनलाई प्रवद्र्धन गरिने मूल संयोजक पौडेलले बताए । महोत्सवमा अटो सम्बन्धी १० वटा, फास्टफुडका १० वटा, आइसक्रिम तथा पानीजन्य १५ वटा, फेन्सी तथा व्यापारिक, औद्योगिक उत्पादन, पर्यटन प्रवद्र्धनका साथै सामाजिक संघसंस्थाका गरि २५० भन्दा बढी स्टल रहने पौडेलले जानकारी दिए । महोत्सवको सचिवालय संयोजक एवम् भरतपुर बजार व्यवस्थापन समितिका सचिव बाबुराम गैरेले महोत्सवमा शुक्रबारदेखि नै साँस्कृतिक कार्यक्रम हुने जानकारी दिए । गैरेकाअनुसार साँस्कृतिक कार्यक्रममा चर्चित ¥यापर भिटेन, बाल नृत्य प्रतियोगिता, रत्यौली गीत प्रतियोगिता हुनेछ । स्थानीय उत्पादनलाई प्राथमिकतामा राखी महोत्सवमा औद्योगिक उत्पादन र पर्यटन प्रवद्र्धन कार्यक्रमलाई समावेश गरिएको गैरेले बताए । महोत्सवबाट बचेको रकममध्ये भरतपुर बसपार्कमा नेपालमै ठूलो राष्ट्रिय झण्डाको स्तम्भ निर्माण, पर्यटन प्रवद्र्धन र केहि रकम निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालालाई समेत प्रदान गर्ने लक्ष्य रहेको छ । महोत्सव सम्पन्न गर्नका लागि करिब एक करोड रुपैयाँ खर्च हुने आयोजकको अनुमान छ ।