लगातारको झरीले एकदिन खिचरा महोत्सव स्थगित

चितवन, माघ ३–पूर्वीचितवनको खैरहनी–५ गौचरनमा जारी सातौं खिचरा महोत्सव आज एक दिनका लागि स्थगित भएको छ ।हिजो (बिहीबार) दिउँसोदेखि नै लगातार वर्षा भइरहेको महोत्सव एक दिनका लागि स्थगित गरिएको थारु कल्याणकारिणी सभा क्षेत्र नं.७ का अध्यक्ष एवंम महोत्सव मुल आयोजक समितिका संयोजक चुडामणि चौधरीले जानकारी दिए ।

वर्षाले महोत्सव स्थलमा पानी जम्नुको साथै दर्शकलाई महोत्सव स्थलमै प्रवेशका लागि समस्या देखिएकोले आज एक दिनको लागि मात्र महोत्सवका सम्पूर्ण कार्यक्रम स्थगित गरिएको संयोजक चौधरीले जानकारी दिए ।

लगातारको माघे झरीले महोत्सवको अधिकांश स्थलमा पानी जमेको छ । जसका कारण हिडडुल गर्न सक्ने समस्या देखिएको छ । आज साँझदेखि मौसममा सुधार आए भोलि (शनिबार) को कार्यक्रम यथावत रहने संयोजक चौधरीले बताए । तर यसबारे मौसमको अवस्था हेरेर निर्णय लिइने उनले बताए । आज महोत्सव स्थगित भएपछि महोत्सव एक दिन थप गर्ने या नगर्ने छिट्टै निर्णय गरिने आयोजकले जनाएको छ ।

महोत्सव अन्तरगत आज चर्चित गायक स्वप्न सुमनको प्रस्तुती रहेको थियो । उनी चितवन आइसकेका छन् । तर वर्षाले महोत्सवका सम्पूर्ण कार्यक्रम स्थगित गरिएकोले उनको प्रस्तुती भोली या अन्य कुनै दिन मिलाएर राखिने साँस्कृतिक कार्यक्रम संयोजक जयस चौधरीले जानकारी दिए । हिजो झरीकै बाबजुद चर्चित गायिका तथा मोडेल ज्योति मगरले आफ्नो प्रस्तुती दिएकी थिइन् ।

थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नं.७ को आयोजनामा भइरहेको महोत्सव माघ ८ गतेसम्म गौचरनमा चल्ने छ । थारु समुदायको महान् पर्व माघी (खिचरा)को अवसरमा प्रत्येक वर्षदेखि ‘खिचरा महोत्सव’ आयोजना हुँदै आइरहेको छ । महोत्सवमा थारुसंगै विभिन्न जातजातिको परम्परागत भेषभुषा सहितको साँस्कृतिक कार्यक्रमलाई जोड दिइएको छ । महोत्सवमा यसवर्ष १५० वटा स्टल रहेका छन् । जसमा थारु जातिको खानाको परिकारसहितको स्टलहरु, चेपाङ र दराई को समेत खानाका परिकारका स्टल र विभिन्न शैक्षिक, वित्तीय संस्था, विभिन्न संस्थाहरुको स्टलहरु समेत रहेका छन् ।