सङ्गीतबाट पनि निको पार्न सकिन्छ धेरै रोग


काठमाडौं । सङ्गीतबाट पनि उपचार हुन्छ भन्ने सुन्दा कतिलाई त अनौठो लाग्न सक्छ, तर यो अनौठो कुरा भने होइन । विश्वमा स्वास्थ्योपचारका विभिन्न पद्धतिमध्ये सङ्गीत चिकित्सा ९म्युजिक थेरापी० पनि एक राम्रो माध्यम हो ।

बौद्धका शान्तरत्न शाक्यले यसलाई ‘सिङ्गिङ बल’ थेरापी भनिने जानकारी दिए । यस्तो उपचारबाट उच्च रक्तचाप, डिप्रेसन, माइग्रेन, हाडजोर्नी दुखाइका साथै विशेषतः कान बज्ने रोगमा प्रभावकारी हुन्छ । नौ वर्षको उमेरमा शाक्यले बाजेबाट सिकेर उपचार पद्धति थालेको ३७ वर्ष भइसक्यो । उनी भन्छन्, ‘‘यो झन्डै १८० वर्ष पुरानो उपचार पद्धति हो । बिरामीले अलिकति विश्वास लिए निको हुन्छ ।’’

उहाँले सङ्गीत चिकित्साको प्रयोगबाट टाउकाको दुखाइ, रुघाखोकी, मानसिक तनाव, मनोरोग आदिको उपचार हुने जानकारी दिए । यस चिकित्साका माध्यमबाट पिट्युटरी ग्रन्थी उत्प्रेरित गर्न सकिने भएकाले शरीरका कोषिकामा हुने कम्पनले बिरामीको समस्यामा सुधार ल्याउँछ ।