गरिबिमा हुर्किएकी शर्मिलाको : कपडा सिलाएरै मासिक लाख कमाई

चितवन /जन्म थलो लमजुङ भई कर्म थलो चितवनको शिबनगर बनाएर गरिबिमा हुर्किएकी चेलीको नाम हो शर्मिला वि.क । हो यिनै शर्मिलाले भरतपुरको शिबनगर बजारमा सिलाई कटाई गरेर मासिक एक लाख रुपैयाँ बढि आम्दानी गर्दै आएकी छन् । लमजुङबाट परिवार सहित भरतपुर १४ को शिबनगर बजारमा आएर सिलाई कटाई गर्दै आएकी शर्मिला वि.कले बजारमा २० बर्ष पहिले देखि पसल सञ्चालन गरेर आएको बताईन ।

२०५६ सालतिर सामान्य अवस्थामा पसल सञ्चालन गर्ने योजनाको साथ चितवनको शिबनगर छिरेकी वि.क. ले यतिबेला पाँच जना कर्मचारीसँगै आफु र सिक्ने गरी ८ जनालाई रोजगारी पनि दिईरहेकी छन् । मिहिनेत गर्न सके आम्दानी राम्रै हुने बताउँदै आएकी वि.कले अरुकोमा करिब ५ वर्ष सिलाई कटाइकै काम सिकि हाल शर्मिला टेलर्स नामक पसल सञ्चालन गर्दै आएकी उनको पसलमा आकर्षक कपडा सिलाई हुने भएपछि ५ जना कर्मचारीलाई कपडा सिलाउन भ्याई नभ्याई हुने गरेको उनी बताउँछिन् ।

चालिस देखि पचास हजार कर्मचारीलाई तलब दिनमा खर्च आएपनि आफुलाई ६० देखि ६५ हजार न्युनतम नाफा हुने उनको भनाई छ । पसलको नाफा र तालिमबाट प्राप्त रकम जोडदा झण्डै लाखको हाराहारीमा बि.क.को कमाई छ । विगतमा हाते मेशिनले काम गर्दा समय धेरै लिने गरेको र प्रविधिको विकाससँगै विद्युतीय मेशिन भित्रिएपछि पछिल्लो समय आधा समय बचत हुने गरेका कारण थोरै समयममा धेरै काम गर्न सकिने वि.क.को भनाई छ । पछिल्लो समय सिलाई कटाई क्षेत्रमा धेरैको आकर्षण भए पनि धैर्यता नभएका कारण कमै मात्र यो पेशामा टिक्ने गरेको उनको तर्क छ ।

हाल सम्म आँफुबाट करिब ५० भन्दा बढी महिला दिदिबहिनीहरुले काम सिकेर आफ्नै सिलाई कटाई गर्न थालेको बताउँदै, आफुलाई विभिन्न सघ सँस्थाले अन्य आमा समुहहरुलाई पनि बेला बखतमा तालिम दिनको लागि आवहन गर्ने गरेको उनले बताईन् । सिकाईमा मिहिनेत बढि लाग्ने तर सिप आर्जन भइसकेपछि कमाई गर्न खासै गाह्रो नहुने उनको धारणा छ ।

उनी भन्छिन “ काम सानो ठुलो हुदैन, जुनसुकै काममा पनि आफुले धैर्य गरे एक दिन सफल अबश्य भईन्छ । सीप सिकिसके पछि र्गाहो अप्ठ्यारो मा अरुसँग हातमुख जोड्न नपर्ने बि.क.को भनाई छ । विगतमा वि.क र परियार जातिले मात्र यो पेशा अँगालेकोमा पछिल्लो समय बढि मात्रामा महिलाहरुले यो पेशालाई प्राथमिकता दिने गरेका छन् ।