मेडिकल माफियाहरुको बिरुद्ध चितवनमा विद्यार्थीको बृहत प्रदर्शन

गैरकानुनी शुल्क फिर्ताको माग

चितवन/चिकित्सा शिक्षा संघर्ष समितिको अगुवाइमा चितवनमा आज विद्यार्थी तथा अभिभावकहरुले मेडिकल माफियाहरुको बिरुद्ध बृहत प्रर्दशन गरेका छन् ।

मेडिकल कलेजहरूले अभिभावक तथा बिधार्थीहरुबाट जर्बजस्ती गैरकानुनी रुपमा उठाएको शुल्क फिर्ता नभएको विरोधमा विद्यार्थी, अभिभावक, जिल्लाका अन्य बिधार्थीहरु तथा नागरिक समाजको समेत सहभागितामा चितवनमा प्रदर्शन गरिएको हो।
चितवन मेडिकल कलेजका विद्यार्थीको नेतृत्वमा भएको प्रदर्शनमा अभिभावक र नागरिक स्वस्स्फूर्त जुलुसमा सहभागी भएका हुन्। चितवनको चौबिसकोठीबाट निस्केको जुलुसले नारयाणगढ बजार परिक्रमा गरेको थियो । मेडिकल कलेजलाई शिक्षा मन्त्रालयले १५ दिनभित्र बढी उठाएको गैरकानुनी शुल्क फिर्ता गर्न यस अघि नै निर्देशन दिईसकेको छ, जुन समय भोलि सोमबार सकिँदैछ।
विद्यार्थीहरुका अनुसार अहिलेसम्म मेडिकल कलेजले बढी उठाएको शुल्क फिर्ता गरेको छैन । शिक्षा मन्त्रालयले १५ दिनभित्र गैरकानुनी शुल्क फिर्ता नलिए मेडिकल कलेजलाई कारबाही गर्ने बताएको थियो।
सरकारले राजधानी बाहिरका मेडिकल कलेजमा एमबीबीएस अध्ययनका लागि ४२ लाख ५० हजार रुपैयाँ शुल्क तोकेको छ। तर, मेडिकल कलेजले एमबीबीएस पहिलो वर्षका विद्यार्थीबाट ५५ लाख रुपैयाँसम्म शुल्क उठाएको विद्यार्थी बताउँछन्। होस्टल शुल्क, खाना, रजिष्ट्रेसन, ट्युसनलगायत भन्दै मेडिकल कलेजहरूले जथाभावी शुल्क उठाइरहेको विद्यार्थीहरुको गुनासो छ । आजको कार्यक्रम भाड्न कलेज प्रशासनले स्थानिय प्रहरीसँगको मिलेमतोमा शनिबार कलेजको कैलाशनगर भवनको होस्टल नजिकै खेलमैदानमा पेस्तोल राखेको बिधार्थीहरुले आरोप लगाएका छन् । पेस्तोल कसले राखेको भन्ने प्रहरीले हालसम्म पत्ता लगाउन सकेको छैन ।