आसन्न उपनिर्वाचनमा चितवनका ३ वटै वडामा नेकपा र काँग्रेस बिच कडा प्रतिस्पर्धा हुने ।

आ आफ्नो पार्टीका उमेद्धवारले जित्ने दलका जिल्ला नेताहरुको दाबी, परिक्षण यहि मंसिर १४ गते हुँदै


चितवन । मङ्सिर १४ गते हुने स्थानीय तहको उपनिर्वाचनमा चितवनका तीनवटै वडामा नेकपा र नेपाली काँग्रेस बिच कडा प्रतिस्पर्धा हुने भएको छ । चितवनमा स्थानिय उपनिर्वाचनमा तिन वटा वडाको उपनिर्वाचन हुदैछ । भरतपुर महानगरपालिकाको–१६ नं. वडा, खैरहनी नगरपालिका–४ र ५ नं. वडामा निर्वाचन हुन लागेको हो तिनवटै वडामा पाँच राजनैतिक दल चुनावी प्रतिस्पर्धामा छन् । यसरी चुनावमा होमिएका पार्टीहरुमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली काँग्रेस, राप्रपा संयुक्त, समाजवादी पार्टी र राष्ट्रिय नागरिक पार्टी रहेका छन् ।
भरतपुर महानगरपालिका–१६ मा राष्ट्रिय नागरिक पार्टीका धनप्रसाद घले, राप्रपा संयुक्तका विष्णुप्रसाद त्रिपाठी, समाजवादी पार्टीका अम्बरबहादुर थापा, नेपाली काँग्रेसका अमृतराज हमाल र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का भक्तराज हमालले अध्यक्ष पदका लागि मनोनयन दर्ता गराएका छन । अन्य दल अस्तीत्व देखाउनकै लागी चुनावी मैदानमा होमिएको देखिन्छ ।
त्यसैगरी खैरहनी–४ मा राप्रपाका अनुज अधिकारी, राप्रपा संयुक्तका सीताराम थापा, नेपाली काँग्रेसका देवप्रसाद बस्नेत र नेकपाका बेदबहादुर अधिकारीले मनोनयन दर्ता गराएका छन् ।
खैरहनी–५ मा राष्ट्रिय नागरिक पार्टीका बलराम चौधरी, समाजवादी पार्टीका बिकन महतो थारू, नेपाली काँग्रेसका प्रतिमा कार्की र नेकपाका पुननारायण प्रधानले अध्यक्ष पदका लागि मनोनयन दर्ता गराएका छन् ।
गत् निर्वाचनमा खैरहनीका दुवै वडामा नेपाली काँग्रेसले निर्वाचन जितेको थियो । खैरहनीका दुबै वडाका वडाध्यक्षद्वय नरेन्द्र अधिकारी र विश्वविजय बस्नेतको सवारी दुर्घटनामा निधन भएको थियो । खैरहनीका वडामा, काँग्रेसले खैरहनी–४ मा कार्यवाहक भएर काम गर्दै आएका वडा सदस्य बस्नेत र ५ मा मृत्यु भएका वडाध्यक्षका श्रीमती कार्कीलाई उम्मेदवार बनाएको छ भने नेकपाले स्थानीय समाजसेवी अधिकारी र प्रधानलाई उठाएको छ ।
ती वडाहरुमा नेकपा र नेपाली काँग्रेसबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ । खैरहनीका दुवै वडामा यसअघि काँग्रेसले जितेको भएपनि अहिले ति वडामा काँग्रेससँग अंकगणितीय मतको कारण नेकपाको कडा टक्कर हुने र परिणाम जुनसुकै दलको भागमा जान सक्ने देखिन्छ ।
यता, भरतपुर–१६ का वडाध्यक्ष चतुर्मान गुरुङको क्यान्सर रोगका कारण निधन भएपछि खाली रहेको भरतपुर –१६ मा नेपाली काँग्रेसका अमृतराज हमाल र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का भक्तराज हमाल बिच कडा प्रतिस्प्रधा हुने देखिन्छ ।
संख्यात्मक र बिगतमा नेकपामा आबद्ध दुई दलको भोट गन्दा सजिलै नेकपाका उमेदवार भक्तराज हमालले जित्ने देखियतापनि स्थानिय क्षेत्रमा सामाजिक प्रभाव फैलाएका अमृतराज हमालको समेत सम्भावना बलियो बन्दै गईरहेको छ । उसो त् स्थानिय निर्वाचनमा जनताले पार्टी भन्दा पनि उमेदवारलाई हेर्ने गर्दछन् ।
त्यसैले अंकगणितीय हिसाबले भन्दा पनि चुनावी परिणाम ज्यामितीय हिसाबले आउन सक्ने देखिन्छ । जे होस चितवनको निर्वाचनमा भरतपुर १६ मा कडा प्रतिस्प्रधा हुने देखिन्छ । नेकपाले उठाएका उम्मेदवार हमाल पूर्व्शिक्षक हुन भने काँग्रेसले उमेद्धवार बनाएका अमृतराज हमाल स्थानिय समाजसेवी तथा जुझारु युवा नेतृत्व हुन् ।
त्यसैले, भरतपुर–१६मा बिगतको अंकगणितीय आधारमा यहि उमेद्धवारले जित्ने दाबा गरीहाल्नु हुदैंन की जस्तो देखिन्छ ।
दलहरुको आ आफ्नै दाबी
नेकपाका जिल्ला अध्यक्ष यमबहादुर परियारले अहिले तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकता भएकाले जिल्लाका तीनै स्थानमा आफ्नो पार्टीका उमेदवारको जीत हुने दाबी गरे । परियारले तीनवटै वडामा समिति निर्माण गरी तिब्र गतिमा प्रचारप्रसारको काम भइरहेको भन्दैं नेकपाका उमेद्धवारको जित सुनिश्चित भईसकेको बताए ।
यता, नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले तीनवटै वडामा काँग्रेसले जीत हासिल गर्ने ठोकुवा गरे । भरतपुरमा झिनो मतले पराजित भएका व्यक्ति उम्मेदवार रहेको र खैंरहनीको २ वटै वडामा काँग्रेसले जितेको वडा भएकोले काँग्रेसले जित्ने दाबी गरेका हुन् । सभापति श्रेष्ठले अहिलेको सरकार र यहाँको जनप्रतिनिधिबाट जनअपेक्षाअनुसार काम नभएकाले पनि जनताले काँग्रेसलाई जिताउने दाबी गरे । प्रचार अभियान तिब्र
काँग्रेसले तीनवटै वडामा समिति बनाएर प्रचारप्रसारलाई तीव्रता दिइएको छ । पार्टीहरुले प्रचार अभियानलाई तिब्रता दिएका छन् । उनीहरुले आवश्यक्ता र माग अनुसार आफ्ना बिभिन्न तहका नेताहरुलाई चुनाबी क्षेत्रमा केन्द्रित गरेका छन् ।
यस्तो छ बिगतको अकं गणित
यसअघिको मत परिणाम अनुसार भरतपुर–१६ मा नेकपा एमालेले दुई हजार १३२, नेपाली काँग्रेसले दुई हजार ६८, माओवादी केन्द्रले ९८९, राप्रपाले ६३, राष्ट्रिय जनमोर्चाले १२, नयाँ शक्तिले ११ र स्वतन्त्र उम्मेदवारले नौ मत प्राप्त गरेका थिए ।
यस्तै, खैरहनी–४ मा नेपाली काँग्रेसले ७३५, नेकपा एमालेले ६७१, माओवादी केन्द्रले ३८६ र राप्रपाले २६ मत प्राप्त गरेका थिए । यता, खैरहनी–५ मा नेपाली काँग्रेसले ६२७, नेकपा एमाले ३९८ माओवादी केन्द्र २७३, राप्रपा १२, राष्ट्रिय जनमोर्चा सात र नयाँ शक्तिले १३ मत पाएका थिए ।
जिल्लामा ६ मतदानस्थल र १५ वटा केन्द्र तय गरिएको त्यस्तै, मतदान केन्द्रका लागि ७५ जना जिल्लाबाट कर्मचारी र केन्द्रमा ६० जना स्वयम्सेवक नियुक्त गरिने जिल्ला निर्वाचन अधिकृत हरि ढकालले जानकारी दिए । ढकालका अनुसार भरतपुर महानगरपालिका–१६ मा आठ हजार ४८१, खैरहनी नगरपालिका–४ मा दुई हजार ६९२ र वडा नं ५ मा दुई हजार १११ जम्मा मतदाता रहेका छन् ।