मदिराले बिगार्दै युवा बर्गको जीवनशैली र स्वास्थ्य


यलु जोशी/ काठमाडौँ, मङ्सिर ३ गते । फेसन, जीनवशैली र रमाइलोका लागि मदिरा प्रयोग गर्नु सामान्यजस्तो भइसकेको छ तर निश्चित उमेर नपुगी मदिरा सेवन गर्न हुन्न भन्ने अन्तर्राष्ट्रिय मान्यता छ । यो मान्यता त्यसै बनेको होइन । मदिराले युवाको जीवनशैली र सिर्जनामा पूरै प्रतिकूल असर पार्ने भएकाले पनि यस्तो मान्यता विकास भएको हो ।
नेपालमा १८ वर्ष नपुगेका कतिपय युवामा मदिरा सेवन सोख वा जीवनशैली बनेको छ । ‘प्लस टु’का विद्यार्थी तथा युवा पुस्तामा मदिरा सेवन एउटा फेसनका रूपमा बढ्दै छ । कलेजमा हुने बिदाइ पार्टी, साथीहरूसँगको ‘भेटघाट’, वनभोज, चाडपर्व र खुसियाली मनाउनेजस्ता
कार्यमा मदिरा पिउनु फेसन नै बनेको छ ।
नेपालमा मदिराजन्य वस्तुको खुला बिक्री हुने गरेको र केही वर्षयता यसलाई नियन्त्रित गर्ने प्रयास गरिएको भए पनि सेवन गर्ने युवापुस्ता भने थपिँदै गएको जानकारहरू बताउँछन् । मदिरा उत्पादन कम्पनीहरूले पनि थरीथरीका मदिरा उत्पादन तथा विज्ञापन गर्ने परम्पराले प्रयोग गर्ने गरेकाले बजार विस्तारलाई स्पष्ट पार्छ । कतिपय मदिरा

उत्पादन कम्पनीले युवा र महिलालाई लक्ष्य गरेर अहिले नयाँ नयाँ कक्टेल, ब्रान्डी जिन र रम, वाइनहरूको उत्पादन गरी बजारमा ल्याएका छन् ।
फिजिसियन डा. रवीन्द्र पाण्डेले मदिराको अत्यधिक प्रयोगले कलेजो, आन्द्रा, मिर्गौला, स्नायु प्रणालीमा असर पर्ने बताउनुभयो । उहाँले गुणस्तरीय र मात्रात्मक रूपमा मदिराको प्रयोग स्वास्थ्यका लागि लाभदायक भए पनि आफ्नो स्वास्थ्यलाई राम्रो राख्न सन्तुलित भोजन गर्नुपर्ने बताउनुभयो ।

मोटो शरीर भएका व्यक्तिले धेरै मदिरा सेवन गरेमा कोलेस्टोरलको मात्रा बढेर हृदयाघात हुने बताउँदै डा. पाण्डेले आँखाको शक्ति पनि कमजोर हुने बताउनुभयो । मदिरा प्रयोग गरिरहेको मान्छेले झट्टै छोड्दा हात काम्ने, आँखाले नदेख्नेजस्ता समस्या आउने हुनाले यसलाई कम गर्दै थोरै मात्रामा सेवन गरी बिस्तारै छोड्नुपर्ने उहाँको सुझाव छ ।
मदिरा धेरै प्रयोगले धरै बेफाइदा भए पनि मात्रा मिलाएर प्रयोग गरेमा फाइदा पनि निकै छ ।

मुटुको रोग र आन्द्रामा हुने क्यान्सर भएका मानिसले बजारमा पाइने गुणस्तरीय ब्रान्डको रेड वाइन, ह्वाइट वाइन बिहान बेलुका एक गिलास प्रयोग गरेमा राम्रो हुनेअनुसन्धानबाट पत्ता लागिसकेको पनि डा. पाण्डेले जानकारी दिनुभयो । उहाँले रक्सी प्रयोग गर्नुपरे पनि मासु, चिल्लो खानेकुरा वा पापडहरूसँग प्रयोग गर्न नहुने र फलफूल वा सलादसँग प्रयोग गर्नुपर्ने बताउनुभयो । जर्मन अनुसन्धानकर्ताहरूले गरेका अध्ययनमा पुरुषसरह नै रक्सी प्रयोग गरेमा महिलाको दिमागमा गम्भीर क्षति पुग्ने पाइएको छ ।

वैज्ञानिकहरूले रक्सी पिउने १५० महिलाको मस्तिष्कको सिटिस्क्यान गर्दा स्मरण गर्न भूमिका खेल्ने मस्तिष्कका महŒवपूर्ण नसाहरूमा क्षति पुगेको प्रतिवेदन सार्वजनिक गरेका थिए । उक्त अनुसान्धान जर्मनीको हेडलवर्ग विश्वविद्यालयका प्राध्यापक कार्लमानको नेतृत्वमा रहेको विशेषज्ञहरूको एक समूहले गरेको थियो । गोरखापत्रबाट