दुर्गेश थापा र प्रताप दास नारायणी महोत्सवमा आउने

चितवन । नारायणगढमा कात्तिक ३० गतेसम्म सञ्चालन हुने नारायणी महोत्सव २०७६ मा शुक्रबार र शनिबार प्रताप दास र दुर्गेश थापाले स्टेज तताउने भएका छन् । महोत्सवको सास्कृतिक कार्यक्रम अन्तरगत शुक्रबार नेपाल आइडलका प्रताप दास तथा शनिबार दुर्गेश थापाले प्रस्तुति राख्ने कार्यक्रम रहेको सह आयोजक संस्था रवि एण्ड उषा मिडिया प्रालिका अध्यक्ष रवि अधिकारीले बताए ।
अपाङ्गता भएका बालबालिकाहरुको सहयोगार्थ रुबी बाल प्रतिष्ठानको आयोजनामा भएको महोत्सवको बिहीबार करिब ६ हजार दर्शकले अवालोकन गरेका छन् । कात्तिक १५ गतेदेखि सञ्चालन भएको महोत्सव पछिल्लो समय दर्शकको चाप भएपछि पाँच दिन थपिएको थियो । महोत्सव आयोजक समितिका संयोजक रोशन राजकर्णिकारले शुक्रबार र शनिबार अन्य दिनको तुलनामा दर्शकहरुको उपस्थिति बढी हुने बताए । युवाहरुमाझ लोकप्रिय गायक प्रताप दास र दुर्गेश थापा आउने भएपछि दर्शकको संख्या बढ्ने अनुमान गरिएको राजकर्णिकारले बताए ।
शनिबार महोत्सवको अन्तिम दिन समेत रहेकाले दर्शकहरु धेरै आउने उनको भनाइ छ । बिहीबार महोत्सवको सांस्कृतिक कार्यक्रम अन्तरगत राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान चितवनका कलाकारहरुले प्रस्तुति राखेका थिए । महोत्सवको आम्दानीबाट अपाङ्गता भएका बालबालिकाहरुको लागि खर्च गरिने आयोजक संस्था रेविका बाल प्रतिष्ठानकी अध्यक्ष रुवी थापाले बताइन् ।