सौराहामा विश्व रेन्जर सम्मेलन सुरु

संरक्षणमा रेन्जरको भूमिका महत्वपूर्ण : प्रचण्ड

चितवन । चितवनको रत्ननगरको सौराहामा मंगलवार देखि विश्व रेन्जर सम्मेलन सुरु भएको छ । पाँच दिन सम्म चल्ने सम्मेलनको पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेका छन् ।
अन्तर्रा्ष्ट्रिय रेन्जर महासंघ (आईआरएफ) र वन तथा वातारण मन्त्रालयको संयुक्त आयोजनामा रेन्जर सम्मेलन सुरु भएको हो । सम्मेलन पाँच दिनसम्म चल्नेछ । यो सम्मेलन एशियामै पहिलो पटक नेपालमा भएको हो । सन् १९९५ बाट शुरु भएको सम्मेलन हरेक तीन÷तीन वर्षमा हुँदै आएको छ ।
यस अघिको आठौं सम्मेलन सन् २०१६ मा अमेरिकामा भएको थियो । सम्मेलन तयारी समितिका संयोजक डा महेश्वर ढकालका अनुसार नेपालसहित ७२ देशका ५५० जना प्रतिनिधि सम्मेलनमा सहभागी भएका छन् । सम्मेलनमा नेपालले मध्यवर्ती क्षेत्रको व्यवस्थापन, भूपरिधि, मानव वन्यजन्तु बीचको द्वन्द्व न्यूनीकरण, शून्य चोरी शिकार, पर्यापर्यटनमा स्थानीय समुदायको साझेदारीलगायतका विषयमा भएका उपलब्धिलाई प्रस्तुत गर्दै छ । त्यसैगरी प्रविधिमा विश्वका अन्य देशमा भएका प्रगति र समस्याका विषयमा आ–आफ्ना प्रस्तुतिकरण गर्ने कार्यक्रम छ ।
सम्मेलनमा वन्यजन्तु संरक्षण, अनुसन्धान र प्रजाति अनुसन्धान, वन्यजन्तु मानवद्वन्द्व न्यूनीकरणका विषयमा विज्ञहरुले आ–आफ्ना मुलुकका सफल उदाहारण प्रस्तुत गर्ने ढकालले बताए । सम्मेलनमा रेन्जरको कामको प्रकृति, कामको गतिमा सुधार, संरक्षणमा उनीहरुले खेलेको भूमिकाको मूल्याङ्कन, प्रविधि हस्तान्तरण, रेन्जरका रुपमा महिलाको योगदान, समुदायस्तरमा उनीहरुले पु¥याएको योगदान, आगामी दिनमा उनीहरुको सुरक्षाबारे छलफल हुने जनाइएको छ ।
पर्यटन वर्ष २०२० को सङ्घारमा यहाँ हुने सम्मेलनले चितवन र नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याउने अपेक्षा गरिएको छ । विश्वमानै वन्यजन्तु सफारीका लागि चितवन राष्ट्रिय निकुञ्ज प्रख्यात रहेको छ । यहाँका एक सिङ्गे गैँडा, पाटेवाघलगायतका जनावर हेर्न हरेक वर्ष स्वदेशी र विदेशी पर्यटक आउने गर्दछन् ।
शून्य चोरी शिकार नेपालको सफलताः वन मन्त्री बस्नेत
यसैबिच, वन तथा वातावरण मन्त्री शक्ति बस्नेतले वन्यजन्तु संरक्षणमा शून्य चोरी शिकार नेपालको सफलता भएको बताएका छन् ।
नवौं अन्तर्रा्ष्ट्रिय रेन्जर सम्मेलनको उद्घाटन समारोहमा बोल्दै मन्त्री बस्नेतले शून्य चोरी शिकारका लागि संरक्षणकर्मी र स्थानीय समुदायको महत्वपूर्ण भूमिका रहेको बताए।
मन्त्री बस्नेतले रेन्जरको काममा प्रभाव पार्ने मुद्दामा छलफल गर्नुका साथै साझेदारीका अवसर सिर्जना गर्नमा यस सम्मेलनले ठूलो अवसर प्रदान गर्ने बताए । सम्मेलनमा सहभागी रेन्जर, विज्ञ, व्यवस्थापक, अनुसन्धानकर्ता, नीति निर्माणकर्ताले एक–आपसमा अनुभव आदानप्रदान गरी उच्चतम प्रविधिको प्रयोग गरी काम गर्न सहयोग पुग्ने उनको भनाइ थियो । मन्त्री बस्नेतले आफ्नो जीवनलाई जोखिममा राखेर संरक्षण गर्ने रेन्जर सच्चा ‘हिरो’ भएको बताए ।
संरक्षणमा रेन्जरको भूमिका महत्वपूर्ण :प्रचण्ड
यता, सम्मेलनका प्रमुख अतिथी पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्मेलनको उद्घाटन गर्दै विश्वमा रेन्जरहरुले संरक्षणमा खेलेको भूमिका अतुलनीय रहेको बताए ।
सम्मेलनमा सहभागी रेन्जर, विज्ञ, व्यवस्थापक, अनुसन्धानकर्ता, नीति निर्माणकर्ताले एक–आपसमा अनुभव आदानप्रदान गरी उच्चतम प्रविधिको प्रयोग गरी काम गर्न सहयोग पुग्ने दाहालको भनाइ थियो । मानव र वन्यजन्तु बीचको द्वन्द्व न्यूनीकरण गर्दै काम गर्नुपर्ने चुनौती संरक्षणकर्मीमा रहेको भन्दै दाहालले समन्वयकारी भूमिका निर्वाह गरी काम गर्नुपर्ने औल्याए । संरक्षण र विकास सँगसँगै अघि बढाउनु आफैमा चुनौतीपूर्ण रहेको भन्दै दाहालले विकासमा दबाब छ भने । वन र वन्यजन्तु संरक्षणमा नेपालले केही क्षेत्रमा विश्वमानै उदाहरणीय कार्य गर्न सफल भएको उनले बताए । कार्यक्रममा वन पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डे, राष्ट्रिय योजना आयोगका सदस्य कृष्णप्रसाद ओली, चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष मधुकर मल्ल, रत्ननगर नगरपालिकाका प्रमुख नारायण वन, वन तथा वातावरण मन्त्रालयका सचिव डा विश्वनाथ ओली, सहसचिव डा महेश्वर ढकाललगायतले सम्मेलनको सफलताको कामना गरेका थिए । सम्मेलनमा नेपालसहित ७२ देशका ५५० जना प्रतिनिधि सम्मेलनमा सहभागी भएका छन् ।