नारायणी महोत्सव पाँच दिन थपियो

चितवन । सुरुआती अवस्थामा दर्शकको न्यूनि उपस्थिति रहेको भएपनि पछिल्लो समय दर्शकको चाप बढ्दै गएपछि नारायणी महोत्सव पाँच दिन थप गरिदएको छ । आयोजक संस्था रेविका बाल प्रतिष्ठानका व्यवस्थापक एवम् महोत्सवका संयोजक रोशन राजकर्णिकारका अनुसार दर्शकहरुको उपस्थितिलाई मध्यनजर गर्दै महोत्सव पाँच दिन थप गरिएको हो । अपाङ्गता भएका बालबालिकाहरुको सहयोगार्थ नारायणी नदी किनारमा सञ्चालन गरिएको महोत्सवमा सोमबार समेत १२ हजार भन्दा बढी दर्शकहरुले अवलोकन गरेको राजकर्णिकारले बताए । शुक्रबारदेखि महोत्सवमा दर्शकहरुको उपस्थिति बढ्दै जाँदा र महोत्सव भित्रका व्यवसायीहरुको चाहनाका कारण समेत महोत्सवलाई पाँच दिन थप गरिएको हो । महोत्सव थप गरिएसँगै महोत्सवको सांगीतिक कार्यक्रममा आउने कलाकार समेत थप गरिएको छ । पाँच दिन थप गरिएको महोत्सवमा काउली बुढी, कमल खत्री, दुर्गेश थापा, कमला घिमिरे तथा पशुपति शर्मा आउने तयार भएको सहआयोजक संस्था रवि एण्ड उषा मिडिया प्रालिका अध्यक्ष रवि अधिकारीले बताए । मंगलबार भने काउली बुढीको प्रस्तुति रहने अधिकारीले बताए । सोमबारको सांस्कृतिक कार्यक्रममा ज्योति मगर र मिलन लामाले प्रत्यक्ष दोहोरी गायर दर्शकहरुलाई नचाएका थिए । कात्तिक १५ देखि सञ्चालन गरिएको महोत्सवको आम्दानीबाट अपाङ्गता भएका बालबालिकाहरुको लागि खर्च गरिने आयोजक संस्था रेविका बाल प्रतिष्ठानकी अध्यक्ष रुवी थापाले बताइन् । प्रतिष्ठानमा हाल २५ जना अपाङ्गता भएका बालबालिकाहरुले शिक्षादीक्षा सँगै निशुल्क रुपमा औषधिउपचार समेत गर्दै आइरहेका छन् । विभिन्न व्यवसायिक स्टलहरुका साथै बाल उद्यान समेत राखिएको महोत्सवमा ¥याफ्टिङ गर्ने सुविधा समेत रहेको छ । रेविका बाल प्रतिष्ठानले आयोजना गरेको नारायणी महोत्सव २०७६ को सहआयोजकको रुपमा रवि एण्ड उषा मिडिया प्राली रहेको छ । महोत्सवको सहयोगीको रुपमा भरतपुर महानगरपालिका, संयुक्त पाँच टोल विकास संस्था र केटिभी एड्भरटाइजिङ एजेन्सी रहेका छन् ।