अबैध मिटरब्याजीलाई कार्बाही गर ।

देशमा कम्युनिष्ट नामको पार्टीको दुईतिहाईको सरकार छ । तर देशभर सामन्तबादी शैलीका चर्का मिटरब्याजी धन्दाहरु खुलम खुल्ला चलिरहेको छ । यो के हो ? कम्युनिष्ट नामको सरकारले यस्ता जनघाती हर्कत र आर्थिक अपराधहरु रोक्न पर्दैन र  ? हुन त् यो मिटरब्याज कम्युनिष्ट पार्टी सरकारमा आएपछी खोलिएको नयाँ धन्दा भने अवश्य होईन यो त् बर्षौबाट चलिआएको खुनि आर्थिक शोषण हो । हिजो राजाको पालामा निर्बाद चल्यो, काँग्रेसको पालामा चल्यो, कमसेकम कम्युनिष्ट सरकारमा त् यस्तो अबैध आर्थिक अपराध रोकियोस । जनता यहि चाहान्छन् तर कम्युनिष्ट नेताहरु के यस्तै मिटरब्याजको  धन्दा निर्बाद चलिरहोस भन्ने चाहान्छ ? या के चाहान्छ ? आज आम सर्बसाधरणले कम्युनिष्ट सरकार र ब्यस्थाप्रति औंलो ठड्याउदै प्रश्न गरिरहेका छन् । यस्तो अबैध धन्दा रोक्न नसके कम्युनिष्ट सरकार र पार्टी नै जनाताबाट बदनाम हुँदै पतनोउन्मुख अवश्यभांवी छ । देशका धेरैजिल्लामा मिटरब्याजीहरुबिभिन्न मुखुण्डो लगाएर आफ्ना अबैध धन्दा निर्बाद गरिरहेका छन् । उनीहरु राजनितीक नेता तथा कार्यकर्ता, समाजसेवी, बरिष्ठ सम्मानित ब्यक्ति ब्यबसायी र मिडीयाकर्मी, लगाएत बिभिन्न आबरणमा लुकेर बसेका छन् । यस्तो धन्दा चितवन जिल्लामा पनि बर्षौबाट निर्बाद चलिरहेको छ । अबैध मिटरब्याज र अबैध ढुकुटीको कारण घरबार उजाडिने र सडकबास हुनेहरु चितवनमा क्रमश स् दिनप्रतिदिन बढिरहेको छ । यो गम्भिर अपराधलाई नियन्त्रण गर्न राज्यका सुरक्षा निकायहरु जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले खासै चासो नदिएको पिडीतहरुको गुनासो छ । यो आर्थिक अपराधलाई नियन्त्रण गर्न स्थानिय निकाय पनि मुकर्दशक भई बसिरहेको छ । राष्ट्र बैंक सुतेर बसेको छ । यस्तो आर्थिक अपराध नियन्त्रणमा ढिलाई हुँदै गर्दा एकातिर आम सर्बसाधरण ति शैतानहरुको शिकार बन्दै जाने अर्कोतिर देशमा कालोधनको कारोबार मात्र बढ्दा देशमा आर्थिक संकट आउनसक्छ । यस्ता अधिकांश मिटरब्याजीहरुले अग्रिम चेक लिने र प्रहरी तथा गुण्डागर्दीको आडमा चेकबाउन्स गर्ने गर्दछन् ।

एकातिर जर्जर आर्थिक अवस्था र बेरोजगारीको भयाभव अवस्था र त्यस्ले सिर्जीत परिस्थीतीको कारण मानिसहरु जानी जानी आफै अबैध ढुकुटी र मिटरब्याजीहरुको फन्दामा फस्न बाध्य छन् । उनीहरुलाई त्यो चर्को र चक्रिय ब्याजले आफुलाई एकदिन खान्छ भन्ने थाहा हुँदाहुँदै पनि देशमा चलिरहेको कुशासन, आफ्ना आर्थिक समस्या हल गर्ने अन्य बिकल्प नदेख्नु र छिट्टै पैसा कमाउने लालचले गर्दा मानिसहरु मिटरब्याज जस्तो गडुवा घोलमा भासिन बिबस छन् । चितवनको नारायणगढ, भरतपुर, टाँडी, पर्सा, भण्डारा, चनौली, रामपुर नवलपुरको गैंडाकोट, देबचुली, कावासोती लगाएतका स्थानमा टिरब्याजको डरलाग्दो धन्दा चलिरहेपनि राज्यका प्रशासनयन्त्र देखि अर्ध न्यायिक भुमिका निभाउन सक्ने स्थानिय निकायहरु समेत यस बिषयमा मौन बसिरहेका छन् । छोराछोरी बिग्रिएमा आमा बाबु दोषि भने जस्तै समाजमा यस्ता बिकृतीहरु हावी भईरहँदा मुकर्दशक बस्ने प्रशासन सयंन्त्र र स्थानिय सरकार यो दोषबाट मुक्त हुनै सक्दैन् । मिटरब्याजीहरुले सयकडा मासिक रु २० देखि रु ३० सम्म लिने गरेको उनीहरुद्वारा पिडीतहरुले बताएका छन् ।

यर्सथ, अबैध रुपमा हुने यस्ता मिटरब्याजी कारोबार रोक्न सरकार कडाईपुर्बक लाग्नुपर्छ । सर्लाहीमा यस्तै मिटरब्याजी धन्दा गर्ने एकजना कुख्यात लुटेरा श्याम प्रदेशी भन्ने डाँकु समातिएको छ । अब देशभर यस्ता जनतामारा सुदखोर डाँकुहरुलाई कार्बाही गर्ने अभियान शुरु गर्न सकेमा बल्ल त्यो जनताको कम्युनिष्ट सरकारको शासन जस्तो हुनेछ । अतः अबैध मिटरब्याजी धन्दा रोक्न यस कार्यमा सम्लग्नहरुलाई एक एक गरी पक्राउ गर्दै कार्बाही गर्नुपर्दछ । हामी यस्ता बेथिती र जनतामारा अपराध रोक्न कुनै न कुनै माध्यमबाट निरन्तर खबरदारी गरिरहनेछौं । जिल्लामा अबैध मिटरब्याज,अबैध ढुकुटी, अबैध हुण्डी जुवाखाल नियन्त्रण,अन्य चोरी, पैठारी र अबैध कारोबारहरु रोक्न प्रहरी प्रशासनको सम्पूर्ण ताकत लगाउन हामी जनताको तर्फबाट जोडदार अपिल गर्दर्छौ ।

भण्डाफोर अभियानबाट