चितवन च्याम्पियनसिपमा जुनियर प्रहरी अधिकृत शिक्षालयको विजयी सुरुआत


चितवन, २६ जेठ /भरतपुरमा सञ्चालन भइरहेको पाँचौँ चितवन च्याम्पियनसिप अन्तर्गत आइतबारको खेलमा जुनियर प्रहरी अधिकृत शिक्षालय विजयी भएको छ । जुनियर प्रहरी अधिकृत शिक्षालयले १–० गोल अन्तरले नारायणी मोटर्स युनिक फुटबल क्लबलाई पराजित गरेको हो ।
खेल सुरु भएको २९औँ मिनेटमा विनोद कार्कीले गरेको गोलले प्रहरी विजयी भएको प्रतियोगिता आयोजक एभरेष्ट क्लब भरतपुरका सचिव विनोद कोइरालाले जानकारी दिए । सो प्रतियोगितामा प्रहरीकै प्रताप गुरुङ म्यान अफ दी म्याच घोषित भएका कोइरालाले बताए । प्रतियोगिता अन्तर्गत सोमबारको खेल सशस्त्र प्रहरी बलको एपीएफ क्लब भण्डारा र जु फुटबल क्लब भरतपुरबीच हुने कोइरालाले जानकारी दिए ।
‘युवाहरुको बाटो कुलत र दुव्र्यसन होइन, चेतना समाज विकास र राष्ट्र निर्माण हो’ भन्ने नाराका साथ आयोजना गरिएको पाँचौँ चितवन च्याम्पियनसिपमा आठ वटा स्थानीय सहित १६ टिम सहभागी छन् । प्रतियोगिताको विजेताले उपाधिसहित तीन लाख रुपैयाँ नगद तथा मेडल र प्रमाणपत्र पाउनेछ । प्रतियोगिताको उपविजेताले एक लाख ५० हजार रुपैयाँका साथै मेडल एवम् प्रमाणपत्र पाउनेछ भने तेस्रो हुने समूहले ५० हजार रुपैयाँका साथै मेडल एवम् प्रमाणपत्र पुरस्कार स्वरुप प्राप्त गर्नेछ ।
सो प्रतियोगितामा बेस्ट डिफेन्स, बेस्ट मिड फिल्डर, उत्कृष्ट गोल रक्षक र सर्वाधिक गोलकर्तालाई १०÷१० हजार रुपैयाँ पुरस्कार प्रदान गरिने एभरेष्ट क्लबका सल्लाहकार सन्तोष पनेरुले जानकारी दिए । त्यस्तै प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई नगद २० हजार रुपैयाँ प्रदान गरिने छ ।
असार ७ गतेसम्म भरतपुरको जुनियर प्रहरी अधिकृत शिक्षालयमा हुने प्रतियोगिताको मुख्य प्रायोजकको रुपमा हनामी इन्टरनेशनल एजुकेशन, सह–प्रायोजकको रुपमा अल्फाबिटा चितवन र स्पोर्टस् वेयर क्लेम रहेका छन् । प्रतियोगिताको दोस्रो पुरस्कार प्रायोजक ध्रुव बजार व्यवस्थापन समिति तथा तेस्रो पुरस्कारको प्रायोजन ग्लोबल स्टार इन्जिनीयरिङ कन्सल्टेन्सीले गरेको छ ।
प्रतियोगिताको उत्कृष्ट खलाडी प्रायोजक मनकामना अस्पताल प्रालि, टिकट प्रायोजक ग्रेस इन्टरनेशनल एजुकेशन तथा सहयोगी संस्थाको रुपमा पुष्पाञ्जली अस्पताल प्रालि तथा नेपाल पोलिटेक्निक इन्स्टिच्युट रहेका छन् ।
प्रतियोगिता अन्तर्गत पुरस्कारका लागि पाँच लाख ६० हजार रुपैयाँ छुट्याइएको छ भने प्रतियोगितामा सहभागी हुने सबै टिमका लागि प्रति खेल पाँच हजार रुपैयाँका दरले यातायात खर्च प्रदान गरिने छ । फिफा नियमअनुसार खेलाइने सो प्रतियोगिता अवलोकनका लागि ५० रुपैयाँको टिकटको व्यवस्था गरिएको छ ।