चितवन खबरको वार्षिकउत्सवमा नेपालकी प्रथम नायिका सम्मानीत


चितवन । चितवनबाट प्रकाशित पहिलो र एक मात्र रंगिन साप्ताहिक पत्रिका चितवन खबर राष्ट्रिय अर्ध साप्ताहिक पत्रिकाले आफ्नो गौरवमय आठौं वार्षिकउत्सव भव्य रुपमा सम्पन्न गरेको छ । गौरवमय आठौं वार्षिकोत्सवको अवसरमा भरतपुरमा आयोजित शुभकामना आदान प्रदान तथा सम्मान कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित नेपाली चलचित्र क्षेत्रकी प्रथम नायिका भुवन चन्द थापाले पत्रिकालाई शुभकामना दिंदै पत्रकारिताको जगतबाट चितवन खबरले समाजमा पु-याएको योगदानको प्रशंसा गर्नुभयो । नायिका थापालाई चलचित्र क्षेत्रको बिकासमा बिगत चार दशकदेखि पु-याएको योगदान स्वरुप चितवन खबर पत्रिकाले बिशेष सम्मान गरेको हो । सम्मान ग्रहण पछि थापाले सम्मानले आफु खुशी भएको भन्दै आगामी दिनहरुमा चलचित्र क्षेत्रको बिकासमा निरन्तर लागिरहने बताउनुभयो । कार्यक्रमको विशिष्ट अतिथि बरिष्ठ चलचित्रकर्मी ऋद्दीचरण श्रेष्ठले पत्रकारिताको माध्यमबाट चितवन खबरले समाजका लागि गरेको अतुलनीय योगदान अविष्मणीय रहेको बताउनुभयो । वार्षिकोत्सवको अवसरमा चितवन खबर राष्ट्रिय अर्ध साप्ताहिक पत्रिकाले बिभिन्न क्षेत्रमा आबद्ध व्यक्तिहरुलाई समेत सम्मान गरेको थियो । कार्यक्रमको सभापति एवम् चितवन खबर राष्ट्रिय अर्ध साप्ताहिक पत्रिकाकी सम्पादक इन्दिरा पन्तले आगामी दिनमा सबैको सल्लाह सुझाव अनुसार नै पत्रिकालाई अझ परिष्कृत र परिमाजर्न गर्दै लैजाने बताउनुभयो । सम्पादक पन्तले अहिलेसम्म पत्रिका सञ्चालनमा सहयोग गर्ने सबैलाई आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै सल्लाह सुझाव सहित सहयोगको अपेक्षा गर्नुभयो । चितवन खबर राष्ट्रिय अर्ध साप्ताहिक पत्रिकाका महाप्रबन्धक हरि कार्की “लक्की”ले आगामी दिनमा पत्रकारिताको माध्यमबाट समाजलाई सुशुचित गर्ने कार्यमा सदैव अडिक रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । महाप्रबन्धक कार्कीले पत्रकारिताको माध्यमबाट समाजलाई सुशुचित गर्नु आफ्नो उद्देश्य रहेको भन्दै सो कार्य पुरा हुँदै जानु नै गर्वको विषय रहेको बताउनुभयो । चितवन खवर पत्रिकाकाे स्तम्भ संयोजक प्रमुख जय पाठक “जे.पी”ले स्वागत मतव्य राख्नुभएको कार्यक्रममा समाजसेवी सुर्य बहादुर कार्की, चलचित्र निर्माता कृष्ण खनाल लगायत ब्यबसायी, पत्रकार एबं बिभिन्न क्षेत्रमा आबद्ध व्यक्तिहरुको सहभागीता रहेको थियो ।