विकासको मुद्धामा एक भएर अघि बढौंः अध्यक्ष प्रधान

चितवन,
उद्योग वाणिज्य संघ चितवनका नवनिर्वाचित अध्यक्ष सहनलाल प्रधानले चितवनको विकासको मुद्धामा चितवन उद्योग संघ र उद्योग वाणिज्य संघ एक भएर अघि बढ्नुपर्नेमा जोड दिनुभएको छ ।

चितवन उद्योग संघले आज भरतपुरमा गरेको उद्योग वाणिज्य संघ चितवनका नवनिर्वाचित पदाधिकारी तथा सदस्हरुको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै अध्यक्ष प्रधानले समग्र जिल्ला र देशको विकासका योजनालाई अघि बढाउन दुवै संस्था हातेमालो गर्न जरुरी रहेको बताउनुभयो । उहाँले उद्योग वाणिज्य संघले जोडबलले आवाज उठाएको ठोरी–केरुङ राजमार्गको योजनालाई चितवन उद्योग संघलाई पनि आवाज उठाउन आग्रह गर्नुभयो । यस राजमार्गले चितवनको मात्र नभई देशकै अर्थतन्त्रमा सकरात्मक प्रभाव पार्ने भएकाले सबैले यस योजनालाई अघि बढाउन दवाब दिनुपर्ने बताउनुभयो ।

यस्तै अध्यक्ष प्रधानले उद्योग वाणिज्य संघ र चितवन उद्योग संघ एकअर्काको परिपुरक संस्था जस्तै रहेकोले उद्योग संघको हरेक योजनामा साथ र सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । उहाँले उद्योग संघले कार्ययोजनामा राखेको औद्योगिक प्राविधिक शिक्षालय निर्माणमा उद्योग वाणिज्य संघले सहयोग गर्ने प्रतिवद्धता जनाउनुभयो । यस्तै अध्यक्ष प्रधानले शक्तिखोर औद्योगिक क्षेत्र जाने बाटोलाई विस्तार गर्ने अभियानमा पनि सबै लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले चितवन उद्योग संघ संग उद्योग वाणिज्य संघ चितवनको भावना जोडिएकोले हरतवरले सहकार्य गर्न तयार रहेको बताउनुभयो ।

कार्यक्रममा नवनिर्वाचित अध्यक्ष, पदाधिकारी तथा सदस्यहरुलाई स्वागत गर्दै चितवन उद्योग संघका अध्यक्ष भेषराज दुवाडीले विगतका वर्षहरु देखि नै उद्योग संघ र उद्योग वाणिज्य संघ सहकार्य गर्दै अघि बढेको स्मरण गराउँदै सदैव यस्तै सहकार्यको विश्वास व्यक्त गर्नुभयो । उहाँले चितवन उद्योग संघले निर्माण गरिरहेको अन्तराष्ट्रियस्तरको चितवन प्रदर्शनी केन्द्र, शक्तिखोर औद्योगिक क्षेत्र र हालसालै कार्ययोजनामा राखेको औद्योगिक प्राविधिक शिक्षालयको बारेमा जानकारी गराउनुभएको थियो ।

चितवन प्रदर्शनी केन्द्र निर्माणमा उद्योग वाणिज्य संघले गरेको आर्थिक सहयोगप्रति धन्यवाद व्यक्त गर्दै आगामि दिनमा पनि यस्तै सहयोग र सहकार्यको आवश्यकता रहेको बताउनुभयो । उहाँले दुवै संस्था एकअर्काको सहयात्री जस्तै रहेकोले चितवनका उद्योगहरुको प्रवद्र्धन र बजारलाई व्यवस्थित बनाउनु सबैको दायित्व रहेकोले विकासको काममा सहकार्य गर्दै अघि बढ्नुपर्ने धारणा राख्नुभयो ।

कार्यक्रममा धन्यवाद मन्तव्य व्यक्त गर्दै चितवन उद्योग संघका उपाध्यक्ष त्रिलोचन कँडेलले यहाँको विकासका लागि यसैगरि दुवै संस्थाको सहकार्य आवश्यक रहेकोमा जोड दिनुभयो ।

कार्यक्रममा चितवन उद्योग संघका अध्यक्ष भेषराज दुवाडीले उद्योग वाणिज्य संघका अध्यक्ष सहनलाल प्रधानलाई फुलमालाले स्वागत गर्दै मायाको चिनो र बधाई पत्र प्रदान गर्नुभएको थियो । यस्तै उद्योग वाणिज्य संघका सबै पदाधिकारी र सदस्यहरुलाई चितवन उद्योग संघका उपाध्यक्षद्धय त्रिलोचन कँडेल र राजु पौडेलले फुलमालाले स्वागत तथा सम्मान गर्नुभएको थियो । उद्योग वाणिज्य संघ चितवनको पुस ३० गते भएको निर्वाचनले नयाँ नेतृत्व चयन गरेको थियो ।