अख्तियारमा गोपाल खड्काको वयान सुरु

९ माघ, काठमाडौं । पेट्रोलियम भण्डारणका लागि जग्गा खरिद प्रकरणमा अनियमितता गरेको आरोप लागेका नेपाल आयल निगमका कार्यकारी निर्देशक गोपालबहादुर खड्काको वयान सुरु भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आज (मंगलबार)देखि उनको वयान लिन लागेको हो ।

आयोग स्रोतका अनुसार निगमका उच्च पदस्थ १६ जनाको वयान सकिएको छ । हालसम्म करीव तीन सय जनाको वयान सकिएको अख्तियार स्रोतले जनाएको छ ।
जग्गा खरिद काण्डमा मुछिएका जग्गाधनी, बिचौलिया, टेन्डरदाता, तत्कालिन स्थानीय निकायका प्रतिनिधिसँगको वयान सकिएपछि आयोगले निगमका पदाधिकारीको वयान सुरु गरेको हो ।
खड्काको वयान सकिएसँगै अब सञ्चालक समितिका तत्कालीन सबै सदस्यको वयान थालिने अख्तियार स्रोत जनाउँछ ।
स्रोतका अनुसार जग्गा खरिदमा कतिपय स्थानमा आयल निगमले सिधै जग्गा खरिद गरेको देखिएको छ । त्यस्तै, कतिपय स्थानमा बिचौलियामार्फत् र कतिपय स्थानमा जग्गाधनी, बिचौलिया र ठेकेदारमार्फत निगमले जग्गा खरिद गरेको छ ।
निगमले झापा, सर्लाही, चितवन र भैरहवामा जग्गा खरिद गर्दा एक अर्ब रुपैयाँभन्दा बढी अनियमितता भएको आरोप छ ।