खिचरा महोत्सवमा हाजिरी जवाफ प्रतियोगिता, रत्ननगरको स्काईराईडर प्रथम

 

चितवन, माघ २–

थारु समुदायहरुको महान् चाड माघी (खिचरा)को अवसरमा आयोजित ‘पाँचौं खिचरा महोत्सव २०७४’ अन्तरगत आज (मंगलबार) अन्तर माध्यमिक विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ ।

प्रतियोगितामा स्काईराईडर आवासिय माध्यमिक विद्यालय रत्ननगर प्रथम भएको छ । विजेता स्काईराईडरले नगद ८ हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । यस्तै प्रतियोगितामा डेजी आवासिय माध्यमिक विद्यालय खैरहनी–८ पर्सा द्धितिय र खैरहनी माध्यमिक विद्यालय खैरहनीले तृतीय स्थान हासिल गरेको छ । द्धितिय भएको डेजीले ५ हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ भने तृतीय भएको खैरहनीले नगद ३ हजार रुपैयाँ, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेको शैक्षिक तथा खेलकुद समितिका संयोजक धनविर चौधरीले जानकारी दिए ।

प्रतियोगितामा स्काईराईडरबाट अमन क्षेत्री र अन्जन ढकालले सहभागिता जनाएका थिए भने डेजीबाट स्मृती भण्डारी र उत्सव रिजाल, खैरहनीबाट राजन खड्का र सन्दिप मगरले सहभागिता जनाएको छ । क्वीज मास्टर प्रताप उप्रेतीले संचालन गरेको हाजिरीजवाफ प्रतियोगितामा २१ वटा विद्यालयहरुको सहभागिता रहेको थियो ।

प्रतियोगितामा खिचरा महोत्सव, कला र साहित्य, खेलकुद, विज्ञान तथा प्रविधि, इतिहास, आईक्वी तथा म्याथमेटिक्स, समसामयिकलगायतको राउण्डमा प्रश्न सोधिएको थियो ।

पाँचौ खिचरा महोत्सवः युवा लक्षित कन्सर्टले झुमायो दर्शक

थारु समुदायहरुको महान् चाड माघी (खिचरा)को अवसरमा आयोजित ‘पाँचौं खिचरा महोत्सव २०७४’ अन्तरगत आज (मंगलबार) दर्शकहरु कन्सर्टमा झुमेका छन् । स्थानीय चर्चित क्रोमेटिक ब्याण्ड, स्तब्ध व्याण्ड र स्यान्ट्रो याण्डको दमदार प्रस्तुतीले दर्शकहरुले झुमेका थिए । उनीहरुले म हुँ प्रकृति.मर्सिटिज बेन्ज, तिम्रो लागि सारा संसार…लगायत जस्ता गीतले दर्शक नचाएका थिए ।

यस्तै आज रत्ननगर कला मन्दिरको साँस्कृतिक नृत्यसंगै थारु नृत्य समेत प्रस्तुत गरिएको थियो । महोत्सव अन्तरगत भोली (बुधबार) चर्चित गायिका तथा हट मोडेल ज्योती मगर, चर्चित गायक रामजी खाँण, रत्ननगर कला मन्दिरको साँस्कृतिक प्रस्तुतीसंगै थारु कल्चर नृत्य समेत प्रस्तुत गरिने साँस्कृतिक समितिका संयोजक जयश चौधरीले जानकारी दिए ।

आज महोत्सवको पाँचौ दिन पनि दर्शकको उल्लेखीय उपस्थिति रहेको महोत्सव मुल समारोह समितिका संयोजक नारायणप्रसाद महतोले जानकारी दिए ।

महोत्सवमा हिजो एकै दिन करिव ३० हजार दर्शक उपस्थिति भएका थिए । दिनप्रति दिन दर्शकको उपस्थिति बढ्दै गईरहेको बेला भोली चर्चित कलाकारहरुको उपस्थितिले दर्शकको संख्या अझै बढ्ने अनुमान गरिएको प्रचार–प्रसार समितिका संयोजक कारी महतोले बताए ।

“राष्ट्रिय एकता र विविधता हाम्रो शान बहुजाति, भाषा, सँस्कृति नेपालको पहिचान” भन्ने नारासहित जारी खिचरा महोत्सव माघ ८ गतेसम्म खैरहनी नगरपालिका–५ स्थित जनकौली गौचरनमा चल्नेछ । थारु कल्याणकारिणी सभा क्षेत्र नं.७ ले थारु सँस्कृतिको संरक्षण र सम्वद्र्धन गर्ने उद्देश्यले आयोजना गरेको महोत्सवमा प्रतियोगितात्मक थारु साँस्कृतिक घरेलु हस्तकला प्रदर्शनी राखिएको छ ।

महोत्सवमा २ सय बढि स्टलहरु रहेका छन् । महोत्सवमा आउने दर्शकहरुको टिकटमा ३५ हजार रुपैयाँ बराबरको बम्पर उपहार स्वरुप पलङ राखिएको छ भने प्रत्येक ५० रुपैयाँको टिकटमा २५ रुपैयाँ बराबरको एक थान पल्पी जुस उपहारको व्यवस्था गरिएको प्रचार–प्रसार समितिका संयोजक कारी महतोले जानकारी दिनुभयो ।

महोत्सवमा आकर्षणको रुपमा थारु जतिको मूख्य खानाको परिकार मध्येको ‘घोङघी’ र ‘चिचर’को ५ फिटको विशाल मूर्ती प्रदर्शनमा राखिएको छ । महोत्सवमा २ लाख दर्शकले अवलोकन गर्ने आयोजकले लक्ष्य लिएको छ भने करिव १० करोडको कारोबार हुने अपेक्षा गरिएको छ ।