क्रान्तिकारी नैतिकताबारे

आफ्नो उत्पत्तिको थालनीदेखि नै मानवजातिले बाँच्नको लागि जंगली जनावर, मौसम आदि प्रकृतिको विरुद्ध संघर्ष गर्नु परेको छ । यस संघर्षमा सफल हुनका लागि ब्यक्तिले ठुलो संख्यामा जनताको शक्तिमाथि, समुहमाथि, समाजमाथि भरोसा राख्नु पर्छ । एक्लै उसले प्रकृतिलाई जित्न सक्दैन र जीविका चलाउन सक्दैन ।बाँच्नको लागि मानिसले खाना र लुगा पाउन उत्पादन गर्नु पर्छ । उत्पादनको पनि समुहमाथि र समाजमाथि भरोसा राख्नु पर्छ । एक्लै ब्यक्तिले उत्पादन गर्न सक्दैन ।

हाम्रो युग एक सभ्य, क्रातिकारी युग हे, त्यसैले सबै काममा समुहको समाजको शक्तिमाथि झन बढी भरोसा राख्नु पर्छ । अहिले ब्यक्ति समुहबाट झन छुट्टै रहन सक्दैन, बरु उ समुहमा, समाजमा सम्मिलित हुनुपर्छ ।तसर्थ, ब्यक्तिवाद सामूहिकतावादको विपरित छ । सामूहिकतावाद र समाजवाद अवश्य विजय हुनेछ र ब्यक्तिवाद अवश्य विलाउनेछ । उत्पादनका तरिका र शक्तिहरुको निरन्तर रुपले विकास र परिवर्तन हुन्छ त्यस्तै मानिसका विचार, सामाजिक व्यवस्था आदिको पनि विकास र परिवर्तन हुन्छ । हामी सबैलाई के थाहा छ भने अतीतदेखि वर्तमानसम्ममा उत्पादनको तरिका रुखको हाँगा र ढुङ्गे बञ्चरो प्रयोगदेखि लिएर मेशिन, बिजुली र आणविक शक्तिको प्रयोगसम्म विकसित भएको छ । सामाजिक व्यवस्था पनि आदिम साम्यवादबाट दासप्रथा सामन्तवाद भएर पुँजीवादसम्म विकसित भएको छ र आज प्रायः आधा मानव जाति समाजवाद र साम्यवादतर्फ बढिरहेका छन् । कसैले पनि यस विकास र प्रगतिलाई रोक्न सक्दैन । निजी मालिकत्वको उत्पत्ति भएदेखि समाज वर्गहरुमा–शोषकवर्ग शोषितवर्गमा–विभाजित भएको छ । त्यसैले, सामाजिक अन्तर्विरोध र वर्ग संघर्ष उत्पत्ति भएको छ । हरेक व्यक्ति आवश्यकीय रुपले कुनै न कुनै वर्गमा पर्दछ र कोही पनि वर्ग बाहिर रहन सक्दैन । त्यसका साथै, हरेक ब्यक्तिले आफ्नो वर्गको विचारधारा प्रतिनिधित्व गरेको हुन्छ ।

पुरानो समाजमा सामन्ती जमिन्दार, पुँजीपति र साम्राज्यवादीहरुले अरु सामाजिक अंगहरुमाथि, खास मजदुर र किसानहरुमाथि निर्ममतापूर्वक थिचोमिचो  र शोषण गर्थे । तिनीहरु समाजद्वारा पैदा गरिएको साझा सम्पत्ति लुटेर आफ्नो निजी सम्पत्तिमा फेर्थे र ऐश आराममा बस्दथे । तर तिनीहरुले ‘धर्म’, ‘स्वतन्त्रता’, ‘प्रजातन्त्र’बारे बकवास गरिरहन्थे ।यस्तो थिचोमिचो र शोषण सदाको लागि सहेर बस्न इन्कार गर्दै, मजदुर तथा किसान र अन्य श्रमजीवी जनता जागेका छन् र तिनीहरुले आफ्नो मुक्तिको लागि र दुष्ट पुरानो समाजलाई राम्रो, नयाँ समाजमा फेर्न क्रान्ति गरेका छन्, जुन समाजमा जनता सुखपूवर्क रहेनछन्  र जसमा मानिसद्वारा मानिसको शोषणमाथि प्रतिबन्ध लाग्नेछ । क्रान्ति सफल हुनाको लागि मजदुरवर्गद्वारा त्यसको नेतृत्व गरिनु पर्छ, किनभने यो सबभन्दा अघि बढेको, सचेत, दृढ, अनुशासित र सुसंगठित वर्ग हो र सर्वहारा पार्टी यसको कार्यकारिणी प्रमुख रहेको छ । सोभियत संघ र अन्य समाजवादी मुलुकहरुमा भएको क्रान्तिबाट यो कुराको निर्विवाद रुपले पुष्टि भएको छ ।क्रान्ति गर्नु, पुरानो समाजलाई नयाँ समाजमा फेर्नु एक निकै गौरवशाली, तर ज्यादै बोझिलो काम हो, एक जटिल, दीर्घकालीन र कठिन संघर्ष हो । बलियो मानिसले मात्र आफ्नो पिठ्युँमा ग¥हौं भारी बोकेर लामे यात्रा गर्न सक्छ । यदि क्रान्तिकारीले आफ्नो गौरवशाली क्रान्तिकारी अभिभारा पूरा गर्ने हो भने उसमा क्रान्तिकारी नैतिकता खँदिलो जग हुनु पर्छ । पुरानो समाजमा जन्मेको र हुर्केको हुनाले, हामी सबै आफ्ना विचार र बानीहरुमा उक्त समाजका चिन्हहरुलाई फरक–फरक मात्रामा आफुसँगै बोकेर हिँड्छौं ।

पुरानो समाजको सबभन्दा खराब र सबभन्दा खतरनाक अवशेष ब्यक्तिवाद हो । ब्यक्तिवाद क्रान्तिकारी नैतिकताको विपरित छ । यसको अलि पनि बाँकी चिन्ह पहिलो अवसरमा नै विकसित हुनेछ, त्यसले क्रान्तिकारी गुणहरुलाई खत्तम पार्छ र हामीलाई क्रान्तिकारी लक्ष्यको लागि संघर्ष गर्नबाट रोक्छ । ब्यक्तिवाद एक धोकापूर्ण र हानिकारक चीज हो । यसले चलाखीसाथ मान्छेलाई पछि हट्न प्रेरित गर्छ, र सबैलाई के थाहा छ भने अघि बढ्नुभन्दा पछि हट्नु सजिलो छ । त्यसैले यो धेरै खतरनाक छ । पुरानो समाजका खराब अवशेषहरु हटाउन र क्रान्तिकारी गुणहरुको विकास गर्ने हामीले कठिन अध्ययन गर्नु पर्छ । र, लगातार प्रगति गर्नको लागि आफूलाई शिक्षित पार्नु र सुधार्नु पर्छ । नत्रभने हाम्रो अवनति हुनेछ र हामी पछि पर्नेछौं र अन्तमा अगाडि बढिरहेको  समाजले हामीलाई अस्वीकार गर्नेछ । स्कूलमा गएर अथवा तालिम कोर्समा सामेल भएर मात्र हामी अध्ययन गर्न सक्छौं र हामीले आफूलाई शिक्षित पार्न र सुधार्न सक्नेछौं भन्ने कुरो होइन । हरेक क्रान्तिकारी काममा हामी यसो गर्न सक्छौं र यसो गर्नु पर्छ । भूमिगत क्रान्तिकारी क्रियाकलाप, आमविद्रोह, प्रतिरोध–युद्ध, उत्तरमा समाजवादको वर्तमान निर्माण र राष्ट्रिय पुनःएकीकरणको लागि संघर्ष धेरै असल पाठशाला हुन, जहाँ हामीले क्रान्तिकारी गुणहरु प्राप्त गर्न सक्छौं ।क्रान्तिकारीहरु गुणहरु भएका मानिसहरु न कठिनाइदेखि डराउँछन्, न दुःख–कष्ट वा असफलतादेखि डराउँछन् । तिनीहरु न ढुलमुल गर्छन, न पछि हट्छन् ।

पार्टी क्रान्ति, वर्ग, राष्ट्र र मानव जातिको हितको लागि तिनीहरुले आफ्नो स्वार्थ त्याग गर्न आनाकानी गर्दैनन् । यो क्रान्तिकारी नैतिकताको एक ज्यादै स्पष्ट र उच्च अभिब्यक्ति हो । हाम्रो पार्टीमा त्रान फू, न्गो गिया तू, ले हङ फोङ, न्गुयेन वान कू, होआङ वान थू, न्गुयेन थि मिन्ह खाइ र धेरै अरु कमरेडहरुले जनता र पार्टीको लागि आफ्नो जीवन उत्सर्ग गरेका छन् र यसरी जन–हितप्रति पूरा समर्पण र निस्वार्थपनाका चहकिला दृष्टान्तहरु पेश गरेका छन् । अनुकूल अवस्था र सफलता प्राप्त भए पनि क्रान्तिकारी गुणहरु भएका मानिसहरु साधारण, विनम्र र दुःख–कष्ट सामना गर्न तयार रहन्छन् । “अरुले भन्दा पहिले कामको चिन्ता गर्नु, अरुले भन्दा पछि आनन्दको विचारको गर्नु ।’ हामीले आफ्नो अभिभारा खुब राम्ररी कसरी पूरा गर्न सकिन्छ भन्ने विचार गर्नुपर्छ, तर कसरी ठुलो पुरस्कार पाउन सकिन्छ भन्ने विचार गर्नु हुँदैन । हामीले पहिलेका उपलब्धीहरुबारे घमण्ड गर्नु हुन्न र विशेषाधिकारको दावी गर्नु अथवा नोकरशाही, घमण्ड र दुष्टयाँईमा लाग्नु हुन्न । यो पनि क्रान्तिकारी नैतिकताको एक अभिब्यक्ति हो ।

छोटकरीमा, क्रान्तिकारी नैतिकतामा तलका कुराहरु रहेका हुन्छन् ः

– पार्टी र क्रान्तिको लागि संघर्ष गर्नमा आफ्नो जीवन अर्पण गर्नु । यो सबभन्दा प्रमुख चिन्ह हो ।

– पार्टीको लागि कठिन काम गर्नु, पार्टीको अनुशासन मान्नु र पार्टीका कार्य्दिशा र नीतिहरु कार्या्न्वित गर्नु ।

– पार्टी र श्रमजीवी जनताको हितलाई आफ्नो हितभन्दा पहिले र माथि राख्नु । दिलोज्यानले जनताको सेवा गर्नु । जनता र पार्टीको लागि निस्वार्थ रुपले संघर्ष गर्नु र हरेक कुरामा दृष्टान्त बन्नु ।

– आफ्नो सैद्धान्तिक स्तर उठाउन, आफ्नो काममा सुधार ल्याउन र आफ्ना कमरेडहरुसंगसंगै प्रगति गर्नका लागि, माक्र्सवाद–लेनिनवादको अध्ययन गर्न र निरन्तर रुपमा आत्मालोचना र आलोचनाको प्रयोग गर्न प्रयास गर्नु ।

हरेक क्रान्तिकारीले गहिरोसित के बुझ्नु पर्छ भने पार्टी मजदुरवर्गको सबभन्दा अघि बढेको र सुगठित संगठन हो, मजदुर वर्ग र श्रमजीवी जनताको नेता हो । वर्तमान समयमा हाम्रो मजदुर वर्ग धेरै संख्यामा नभए पनि, दिन प्रतिदिन त्यसको विकास हुँदैछ । भविष्यमा, कृषि सहकारी संस्था जहाँतहीं गठन हुनेछ, गाउँले इलाकामा ब्यापक रुपमा मेशिनहरुको प्रयोग हुनेछ र किसानहरु मजदुर बन्नेछन् । बुद्धिजीवीहरु शारीरिक श्रमसँग राम्रोसँग परिचित हुनेछन् र मानसिक र शारीरिक मजदुरहरुबीचको भिन्नता विस्तार विस्तार मेटिनेछ । दिन प्रतिदिन हाम्रो देशको उद्योगको विकास हुनेछ । त्यसैले, मजदुरहरुको संख्या झन झन बढ्नेछ । तिनीहरको तागत बढ्नेछ, र मजदुर वर्गको भविष्य महान् र गौरवशाली छ । यसले संसार र आफुलाई सुधार्नेछ ।

क्रान्तिकारीले उपरोक्त कुरो स्पष्टसित बुझ्नु पर्छ र मजदुर वर्गको अडानमा दृढतापूर्वक अड्नु पर्छ, जसले गर्दा समाजवाद र साम्यवादको लागि, मजदुर वर्ग र सम्पूर्ण श्रमजीवी जनताको लागि दिलोज्यानले संघर्ष गर्न सकियोस् । क्रान्तिकारी नैतिकता पार्टी र जनताप्रति निरपेक्ष निष्ठामा रहेको छ ।हाम्रो पार्टीको नेतृत्वमा हाम्रा जनताले वीरतापूर्वक लडेका छन्, औपनिवेशिक र सामन्ती अधिपत्यलाई फालेका छन्, र हाम्रो देशको उत्तरी भागलाई पुरै रुपमा मुक्त गरेका छन् । यो एक ठूलो सफलता थियो । तर क्रान्तिले अझसम्म पूर्ण विजय पाइसकेको छैन, र पार्टीको वर्तमान उद्देश्य राष्ट्रिय पुनःएकीकरणको लागि संघर्ष गर्नु हो, जसले गर्दा स्वाधीन, प्रजातान्त्रिक र समृद्ध भियतनामको निर्माण गर्न, मुलुकभर मानिसद्वारा मानिसको शोषण उन्मूलन गर्न र सबैको लागि सुख र प्रचुरता सहितको एक नयाँ समाजको निर्माण गर्न सकियोस ।तर हाम्रो उद्योग अझसम्म पिछडिएको छ । भाइचारा मुलुकहरु, सर्वप्रथम सोभियत संघर चीनको निस्वार्थ मद्दतको फलस्वरुप यसको विकास हुँदैछ । हाम्रो प्रयत्न सफल हुनका लागि हाम्रा मजदुरहरुले एकले अर्काेसंग प्रतिस्पर्धा गर्नुपर्छ र झन–झन धेरै, झन छिटो, झन राम्रो र झन बढी मितब्ययी ढंगले उत्पादन गर्न प्रयास गर्नुपर्छ, श्रम–अनुशासनको पालन गर्नुपर्छ र आफ्नो उद्योगधन्दाको प्रबन्धमा जाँगरिलो भई भाग लिनुपर्छ ।

हामीले फजूल खर्च र हिनामिनाको विरोध गर्नुपर्छ र हाम्रा कार्यकर्ताहरु साँच्चिकै मेहनती, मितब्ययी, इमान्दार र निष्कपट हुनुपर्छ र उनीहरुले मजदुरहरुसंग मिलेर श्रममा भाग लिनुपर्छ । हाम्रा किसानहरुलाई जमिन दिइएको छ र उनीहरुको जीवनमा आंशिक सुधार भएको छ । तर उत्पादन पद्धति अझसम्म तितर–वितर पिछडिएका छ, त्यसैले अझसम्म उपज त्यति बढेको छैन र जीवनका अवस्थाहरुमा अलिमात्र सुधार भएको छ । हाम्रो गाउँले इलाकमा कार्य–विनिमय दल र सहकारी संस्थाको स्थापना गर्ने आन्दोलनलाई ब्यापक र दरो रुपले अधि बढाइनु पर्छ जसले गर्दा उत्पादनमा ठोस बृद्धि गर्न सकियोस अनि मात्र हाम्रा किसानहरु गरिबीबाट मुक्त हुन सक्छन् र उनीहरुको अवस्थामा सुधार हुन सक्छ । तसर्थ, पार्टीको उद्देश्य प्राप्त गर्नको लागि प्रयास गर्नु, मजदुर वर्ग र श्रमजीवी जनताको इमान्दारीपूर्वक सेवा गर्नु र कहिल्यै ढुलमुल नुहुन क्रान्तिकारी नैतिकता हो ।

पार्टी र श्रमिक युव संघका धेरैजसो सदस्यहरु र कार्यकर्ताहरुले यसो गरेका छन्, तर कसै–कसैले गरेका छैन । तिनीहरु गलत ढंगले के सोच्छन् भने उत्तरमा उपनिवेशवादी र समान्तहरुबाट मुक्ति पाइसकेको हुनाले, क्रान्ति सफलतापूर्वक पूरा भएको छ । त्यसैले, तिनीहरले ब्यक्तिवादलाई आफूमिभत्र हुकर्न दिन्छन्, मोजमज्जा र आरामको माग गर्छन र संगठनले सुम्पेको काम गर्नुको सट्टामा आफ्नै काम गर्न चाहन्छन् । तिनीहरु उच्च पद चाहन्छन् तर जिम्मेदारी पन्छाउँछन् । तिनीहरुको लडाकूपना र शक्ति विस्तार–विस्तार कमजोर हुन जान्छ र त्यस्तै तिनीहरुको क्रान्तिकारी साहस र उच्च गुणहरु पनि कमजोर हुन जान्छन् । उनीहरु के बिर्सन्छन् भने क्रान्तिकारीको मुख्य कसी नै पार्टी र क्रान्तिको निम्ति जीवनभर संघर्ष गर्ने उसको अठोट हो ।‘…
ग्रेटमिशन त्रैमासिकबाट