पर्यटकीय नगरी सौराहामा आचारसंहिता लागु


चितवन । क्षेत्रीय होटल संघ चितवनले चितवनको पर्यटकीय नगरी सौराहामा होटल,रेष्टुरेन्ट तथा पर्यटन व्यवसायसँग आवद्ध आचारसंहिता लागु गरेको छ । शनिबारदेखि लागू गरिएको आचारसंहितामा सौराहा प्रवेश गर्ने पर्यटकले समेत पालना गर्नुपर्नेछ । आचारसंहितामा जाडोको समयमा रेष्टुरेन्ट र पसल राती ११ बजे सम्म मात्रै खोल्नुपर्ने र गर्मीयाममा १२ बजेपछि खोल्न नपाइने , होटल तथा रिर्सोटमा आउने पर्यटकले परिचय खुल्ने प्रमाणपत्र राख्नुपर्ने , स्कुल,क्याम्पस र शैक्षिक संस्थामा अध्ययनरत विद्यार्थी ड्रेसमा आएमा कोठा नदिने तर अभिभावकको जिम्मेवारीमा दिइने , हाती,जीप सफारी र जंगल वाकमा प्लाष्टिकजन्य कुनैपनि सामान लैजान प्रतिवन्ध गरिने, किराना पसल र मदिरा पसलको पेटीमा मदिरा सेवन गर्न रोक लगाइने , चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा अनुमति विना ड्रोन उडाउन नपाइने निर्णय गरिएको संघले जनाएको छ । त्यस्तै, संघकै अगुवाइमा एक गतेदेखि नै हर्न निषेधित क्षेत्र समेत घोषणा गरिएको छ । पर्यटन क्षेत्रमा पर्ने बाटो र सार्वजनिक स्थलमा पार्किङ निषेधित गरिएको संघले जनाएको छ । संघका अध्यक्ष सुमन घिमिरेले सौराहाको पर्यटनलार्इ व्यवस्थित बनाउन जिल्ला ट्राफिक कार्यालय चितवनका प्रमुख सन्तोष पन्तले सौराहा क्षेत्रलाई हर्न निषेधित क्षेत्र घोषणा गरेका हुन्  । शनिबारबाट बाट यही पुस १५ गते सम्म प्रचार प्रसार अबधीको रुपमा लिई जनचेतना जगाउन र स्थानीय स्तरमा सन्देश प्रबाह गर्न थालिएको पन्तले बताए । हर्न बजाउँदा हुने ध्वनी प्रदुष्णको कारण मानिसमा मात्र जनावरमा पनि असर पर्ने भएकाले यस्तो कदम चलाएको बताईएको छ । यस अघि चितवनको नारायणगढ,भरतपुरका मुख्य सडकहरुमा भदौं १ गते देखि नै हर्न निषेधित क्षेत्र घोषणा गरि सकिएको छ ।